२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ बासुदेव र गगनको लुम्विनीका होटल ब्यवसायीहरुको आन्दोलनमा साथ

बासुदेव र गगनको लुम्विनीका होटल ब्यवसायीहरुको आन्दोलनमा साथ

बुटवल । आफुहरुले गरेको अर्वौको लगानी डुवाउने गरी लुम्विनी बिकास कोषले गुम्वा तथा बिहारहरुलाई होटलको रुपमा सञ्चालन गर्न दिएको दिएको भन्दै लुम्विनीका होटल ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले लुम्बिनीका गुम्बा तथा विहारहरु होटलका रूपमा सञ्चालन गर्दा आफूहरूको व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीहरूले गुनासो छन्।

विभिन्न देशहरूले लुम्बिनीभित्र बनाएका गुम्बा र विहारमा अवैध रूपमा चलेका होटल बन्द गर्न लुम्बिनीका व्यवसायीहरूले माग गरेका छन्। यस विषयप्रति होटल व्यवसायीहरूले विगत १२ वर्षदेखि लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउँदै आएका छन्। तैपनि सुनुवाइ नभएपछि उनीहरूले बिहीबारदेखि धर्ना सुरू गरेका छन्। व्यवसायीहरूले बिहीबारदेखि हरेक दिन दुई घन्टा कोषको कार्यालय अगाडि धर्ना सुरू गरेका हुन्।

शुक्रबारको धर्नामा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ऐक्यबद्धता जनाएका थिए। पार्टी कार्यक्रमका लागि बिहीबारदेखि रूपन्देहीमा रहेका थापाले लुम्बिनीभित्रका विहार र गुम्बालाई होटलका रूपमा प्रयोग गर्नु गैरकानुनी भएको बताए। उनले गुम्बा र विहार स्थापनाका लागि कोषको जग्गा लिएर होटल सञ्चालन गर्नु अवैध काम भएको उल्लेख गर्दै यस्तो कार्य नियमनका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने बताए । व्यवसायीहरूले गरी खान देऊ, धर्मका नाममा व्यापार नगर, स्थानीय बासिन्दाको अग्राधिकार सुनिश्चित गर, शान्ति भूमिलाई शान्त रहन देऊु लगायत नारासहितको पम्प्लेट बोकेर धर्नामा बसेका थिए।

रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले पनि सो आन्दोलनमा ऐक्यबद्धता जनाउँदै केहीबेर धर्नामा बसेका थिए। घिमिरेले यो विषयलाई प्रतिनिधि सभामा उठान गरेर समाधानका लागि पहल गर्ने बताए। लुम्बिनी आसपास क्षेत्रका होटल व्यवसायीको संस्था लुम्बिनी होटल संघ नेपालले सुरू गरेको आन्दोलनमा सिद्धार्थनगर उद्योग वाणिज्य संघ, स्थानीय बासिन्दा लगायत संघसंस्थाले साथ दिएका छन्। होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा र विहारले नियमविपरीत गेस्ट हाउस सञ्चालन गर्दै आएको बताए।

कोषले परिसरभित्र विभिन्न मुलुकलाई बुद्धसँग सम्बन्धित आआफ्नो देशका कला संस्कृति झल्किने गरी गुम्बा तथा विहार बनाउन अनुमति दिए पनि त्यहाँ अनधिकृत तरिकाले होटल चलिरहेको उनको भनाइ छ।लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्न कोषभित्र विभिन्न देशले बनाएका गुम्बा र विहारमा पाँच जना भिक्षुरभिक्षुणी र उनीहरूका सहयोगीका रूपमा थप पाँच जना गरी जम्मा दस जना बस्न सक्ने व्यवस्था छ। यसरी बस्नेहरू कुन देशका हुन् र कति दिनसम्म बस्ने हो भन्नेबारे सम्बन्धित विहारले कोषलाई जानकारी गराउनुपर्ने नियम छ।

तर गुम्बाहरूले सयौंका संख्यामा पर्यटक बसाल्ने गरेको व्यवसायीहरूको आरोप छ। सम्बन्धित गुम्बा र विहारले कोषलाई यसबारे जानकारी नदिएको र कोषले पनि यसमा चासो नदिएको उनीहरूले बताए। अध्यक्ष ज्ञवालीका अनुसार पुराना विहार तथा गुम्बामा गेस्ट हाउस चलाएइएको छ भने निर्माणाधीनहरूमा पनि बनाउने क्रम जारी छ। विदेशी पर्यटकहरू सम्बन्धित देशका गुम्बा र विहारमा बस्दा होटल तथा गेस्ट हाउस धराशायी भएको उनले गुनासो गरे।

लुम्बिनी क्षेत्रमा तारेस्तरीयसहित ८२ वटा साना(ठूला होटल छन्। यिनमा अर्बौंको लगानी छ। पर्यटकीय गतिविधि सुस्त भएका बेला आएका पर्यटक समेत गुम्बा र विहारकै होटलमा बस्दा एक दर्जन बढी होटल पूर्ण रूपमा बन्द भएको अध्यक्ष ज्ञवालीले बताए। उनका अनुसार विहार र गुम्बाहरूले भने ३ सय जनासम्म क्षमताका गेस्ट हाउसको संरचना तयार गरिरहेका छन्।

गौतमी भिक्षुणी विहार, गोल्डेन टेम्पल म्यानमार, कम्बोडिया विहार, महावोधी सोसाइटी भारत, थाइल्यान्डको राजकीय विहार, चिनियाँ विहार, कोरियन विहार, बज्रयान नेपाली विहार, सिंगापुर विहार लगायतले नियमविपरीत होटल चलाएको होटल व्यवसायीहरूको दावी छ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले व्यवसायीहरूले भनेजस्तो विहार(गुम्बाहरूमा होटल चलाएको पाइए बन्द गराउने बताए। आन्दोलनरत व्यवसायीले भनेजस्तै विहार र गुम्बाहरूमा नियम विपरीत होटल सञ्चालन गरेको भए बन्द गराउँछौं, उनले भने। भट्टराईले व्यवसायीहरूलाई छलफलका लागि आह्वान समेत गरिएको बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार