२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ भैरहवा-तौलिहवा सडकखण्डको पर्सा चौराहामा आकर्षक लुम्बिनी प्रवेशद्वार बन्ने

भैरहवा-तौलिहवा सडकखण्डको पर्सा चौराहामा आकर्षक लुम्बिनी प्रवेशद्वार बन्ने

बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर पुग्ने भैरहवा-तौलिहवा सडकखण्डको पर्सा चौराहामा करिब तीन करोड लागतमा आकर्षक प्रवेशद्वार बन्ने भएको छ ।

लुम्बिनी गुरुयोजना अन्तर्गतको पर्सा-लोहखडिया सडकखण्डको प्रस्थान विन्दुमा पर्यटकलाई स्वागत गर्दै शान्ति र परिवर्तनको आभाष हुनेगरी प्रवेशद्वार बनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रवेशद्वार बन्ने पर्सा चौराहादेखि दक्षिणतर्फ लोहखडियासम्म ८ सय मिटर लम्बाईको चार लेन सडक पनि बन्ने छ । सो सडकको दायाँ बायाँ दुवैतर्फ हरियालीसहितको फुटपाथ र सोलार बत्तीसहित सौन्दर्यीकरण गरिने छ । उक्त सडक ५ करोड ३५ लाख रुपैयाँको लागतमा बन्ने छ ।

१८ महिनाभित्र सडक निर्माण सम्पन्न गरेर प्रवेशद्वार बनाउन सुरु गरिने लुम्बिनी विकास कोषको प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । प्रवेशद्वार निर्माणको सोमबार शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले प्रवेशद्वारको शिलान्यास गरेका हुन् ।

सौन्दर्यीकरणको काम भने गत भदौबाटै सुरु भइसकेको थियो । सन् १९८५ देखि सुरु भएको गुरुयोजना अबको ३ वर्षमासकिने कोषले जनाएको छ ।

सडक खण्डमा दुवैतर्फ स्थानीय र रैथाने जातका पेण्डुलम, अशोक, बोटल पार्म, बेगनबेलीलगायत ४ हजार ५ सय ५ वटा विरुवा रोपिने छ ।

जापानीज वास्तुविद् केन्जो टांगेले बनाएको गुरुयोजना अनुसारका पुर्वाधारहरु निर्माण गर्न अझै करिब ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

पर्साचोकमा आकर्षक प्रवेशद्वार र सौन्दर्यीकरण भएपछि लुम्बिनीको गरिमा बढ्ने सो षेत्रका प्रदेश सांसद फखरुद्दिन खानले बताए ।

‘अहिलेसम्म लुम्बिनी र मायादेवी मन्दिर जाने मुख्य चोकमा फोहोरको डुंगुर थियो, जसले पर्यटकलाई पहिलो गासमै ढुंगा जस्तो नकारत्मक असर परेको  थियोे,’ सांसद खानले भने, ‘अब लुम्बिनीको सुन्दरता बढ्नुका साथै वृक्षारोपणले वातावरण संरक्षण पनि हुने छ ।’

@sainamainakhabar

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार