गृहपृष्ठ आधुनिक युगमा दुर्गासप्तशतीको महत्त्व
आधुनिक युगमा दुर्गासप्तशतीको महत्त्व
संसारमा सबै धर्मका आआफ्नै धर्मग्रन्थहरू छन्। धर्मग्रन्थ भनेका धार्मिक,आध्यात्मिक,नैतिक आदि नियम संकलन गरिएका ज्ञानका श्रोत भएका पवित्र पुस्तकहरू हुन्। यी पुस्तकहरू भनेका कुनै कोठा वा मन्दिरमा ईश्वर वा देवीदेवताका प्रतीकका रुपमा केवल पुज्नको लागि मात्र नभएर अध्ययन र पाठ गरी जीवन र जगतका विविध आयामलाई नजिकबाट बुझ्नका लागि लेखिएका हुन्। धर्मग्रन्थमा मानव जीवनलाई सही मार्गमा हिड्न सिकाउने नियमहरू र ज्ञानहरू छन्।हिन्दुधर्मका धर्मग्रन्थ भनेका वेद,पुराण,उपनिषद् हुन् भने क्रिश्चियनको बाइबल,बौद्धको त्रिपिटक,किराँतको मुन्धुम,इस्लामको कुरान हुन्।
सनातन वा हिन्दु धर्मको एउट प्रमुख ग्रन्थ वेद हो।वेद पनि ऋग्वेद,सामवेद,यजुर्वेद र अथर्ववेद गरी चार किसिमका छन्।वेदमा रहेका आध्यात्मिक, आधिभौतिक,आधिदैविक,व्यावहारिक,नैतिक,सांस्कृतिक तत्त्वहरूलाई सर्वसाधरण जोसुकैले सजिलै बुझ्न सकोस् भनेर पुराणको रचना गरिएको हो भनिन्छ।पुराणहरू ऋषिहरूबाट नै श्रुतिपरम्पराबाट विकसित भएका ग्रन्थहरू हुन्।पुराण शब्दको व्युत्पत्ति पुरा र अण शब्दबाट बनेको हो।पुरा भनेको प्राचीन अर्थात पुरानो र अण भनेको वर्णन भन्ने बुझिन्छ। वेदमा भएका क्लिष्ट वा जटिल विषय,भाषा र सन्देशलाई सरल,सहज,रोचक र आख्यान सहित पुराण रचना गरिएका छन्।पुराणका कथा पुराना भएपनि ती कहिल्यै पुराना हुदैनन्।पुराणमा धर्म,दर्शन,ईश्वर,जगत,जीवन,मानव सभ्यता,इतिहास,राजनीति,समाजशास्त्र,ज्योतिष,आयुर्वेद आदि अनेक विषयहरूकको भण्डारण हुन्छ। पुराणहरूलाई रोचक र कौतूहल बनाउन केही अति काल्पनिक कथाहरू जोडिए पनि मानिसलाई सत्य,अहिंसा र परोपकारको बाटोमा लाग्नको लागि प्रेरित गरेका हुन्छन्।पुराणमा जन्म,भाग्य,कर्म र पुनर्जन्म,फलप्राप्ति आदिका बारेमा निकै गहिरो र फराकिलो चर्चा गरिएको हुन्छ।
पुराणहरू अठार प्रकारका छन्।पुराणहरूलाई मुख्य तीन देवताका आधारमा विष्णु प्रधान,शिव प्रधान र ब्रह्मा प्रधान गरी वर्गीकरण गरिएको पनि छ।अठार पुराणहरूमा विष्णु,श्रीमद्भागवत,नारद,गरुड,पद्म,वाराह,शिव,लिङ्ग,स्कन्द,अग्नि,मत्स्य,कूर्म,ब्रह्मा,ब्रह्माण्ड,ब्रह्मवैवर्त,मार्कण्डेय,भविष्य र वामन हुन्।पुराणका कथाहरू पुराना भए पनि तिनले दिने सन्देश सधैं नयाँ नै रहिरहन्छन्।आख्यानका विषय र सन्देशहरूमा जीवन्तता नै पाइन्छ।कथा, पात्र र घटनाहरू काल्पनिक भएपनि तिनले दिने सन्देश वास्तविक नै हुन्छन्।कथाहरू यो जीवन र जगतसँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्धित अनि निकै रोचक र कुतूहल छन्।पुराणमा प्राचीन कालका राजवंशको उदय,राज्य सञ्चालनका विधि र नियम,पतनका साथै मानव जीवनका विविध पक्षहरू जस्तै ज्ञान,ध्यान,दान,भक्ति,वैराग्य,पुरुष,प्रकृति,प्रेम,शक्ति,करुणा,तपस्या,सदाचार आदि कुराहरूलाई विभिन्न घटना बनाई निकै रोचक तरिकाले वर्णन गरिएको छ।पुराणमा वर्णन गरिएका कतिपय विषयहरूलाई केवल अभिधा अर्थमा मात्र बुझेर सबै ज्ञान प्राप्त गर्न सकिँदैन,तिनलाई लक्षणा,व्यञ्जना,साङ्केतिक,प्रतीकात्मक अर्थ लगाएर बुझ्नुपर्छ।पुराणहरू आज भन्दा करिब पाँच हजार वर्ष पहिले सम्पादन गरिएको विश्वास गरिन्छ।पुराणहरू गुरुशिष्यको श्रुति परम्पराबाट विकसित भएका हुनाले यिनमा रहेका कतिपय घटना र विषयहरू काल्पनिक,जटिल,रहस्यात्मक र भ्रमपूर्ण पनि छन्।
सनातनी वा हिन्दुहरूले चलनचल्तीमा भन्ने दुर्गापाठ वा चण्डीपाठ भनेको पनि पुराणकै एक अंश हो।यो मार्कण्डेय पुराणको अंश हो। मार्कण्डेय पुराणमा रहेका एकासी अध्यायदेखि त्रियानब्बेसम्मको कथा नै दुर्गासप्तशती हो। मार्कण्डेय ऋषिको नामबाट यो पुराणको नाम राखिएको हो।मार्कण्डेय पुराणमा जम्माजम्मी नौ हजार श्लोक छन्।दुर्गासप्तशतीको मूल भाषा संस्कृत हो।अहिले यसका विभिन्न भाषामा अनुवाद,वर्णन र व्याख्या गरिएका मुद्रित र ग्रन्थहरू पनि प्रकाशित भएका छन्।श्रीदुर्गासप्तशतीका मुख्य,अनुवाद र व्याख्या गरिएका पाठ्य,श्रव्य र दृश्य सामग्रीहरू इन्टरनेट,सामाजिक संजालहरूमा पढ्न,हेर्न र सुन्न पनि सकिन्छ।
दुर्गासप्तशती सम्वादात्मक,छन्दोबध्द र गेयात्मक शैलीमा रचना गरिएको छ। यसमा खासगरी अनुष्टुप,त्रिष्टुप र जगती जस्ता शास्त्रीय छन्दको प्रयोग गरिएको छ।यसमा वीर र रौद्र रसको प्रधानता पाइन्छ।यसमा द्विअर्थी र प्रतीकात्मक,रस अनूकुलका शब्द चयन गरेको पाइन्छ।दुर्गा सप्तशतीको भाषा नादब्रह्म जस्तो छ। यसमा प्रयोग गरिएका शब्दहरू निकै ओजपूर्ण र गाम्भीर्य छन्।
दुर्गासप्तशतीको दुर्गा शब्द दुर्गबाट बनेको हो।दुर्ग भनेको किल्ला वा साहस वा कठिन ठाउँ भन्ने बुझिन्छ।दुर्गालाई शक्तिको केन्द्र पनि मानिन्छ।शास्त्र अनुसार मानव जीवनका सम्पूर्ण दु:खकष्टलाई अन्त्य गर्ने शक्ति भएकी देवीलाई दुर्गा भनिएको छ। यही माता दुर्गाका बारेमा सातसय श्लोकको आख्यान भएको हुनाले यसलाई दुर्गासप्तशती भनिएको हो। यस दुर्गासप्तशतीको ग्रन्थलाई चण्डी पनि भनिन्छ। चण्डी भनेको दुर्गाकै उग्र रुप हो। संसारमा अन्याय,अत्याचार र आसुरी शक्तिका विरुद्धमा अत्यन्त उग्र,वीर,प्रचण्ड,पराक्रमी र साहसी भएर प्रकट भएकी दुर्गालाई चण्डी भनिएको हो।हिन्दु परम्परा अनुसार विशेषगरी श्रीदुर्गासप्तशतीको पाठलाई चन्द्रमानको पात्रो अनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म अर्थात नवरात्रमा पढ्ने गरिन्छ।यस बाहेक चैत,असार र माघ महिनाका नवरात्रीमा पनि पढ्ने परम्परा छ।दुर्गासप्तशतीका ग्रन्थहरूमा मूल पाठ बाहेक पूर्वाङ्ग र उत्तराङ्ग भाग पनि रहेका छन्। पूर्वाङ्गमा दुर्गाष्टोत्तरशतनामस्तोत्रम् र पाठ विधि छन् भने उत्तराङ्गमा ऋग्वेदोक्तं देवीसूक्तम्,प्राधानिकं रहस्यम्,क्षमा प्राथना आदि रहेका छन्।
श्री दुर्गा सप्तशतीमा रहेका तेह्र अध्याय र सातसय श्लोकमा राजा सुरथ र व्यापारी समाधिको कथा,महाकालीको आराधना, देवताहरूको तेजबाट देवीको प्रकट र महिषासुरको वध,इन्द्रादि देवताबाट देवीको स्तुति,धूमलोचन,चण्डमुण्ड,रक्तबीज र शुम्भनिशुम्भ जस्ता राक्षसहरूको बध,देवताहरूद्वारा देवीको स्तुति आदि जस्ता विषय र घटनाहरू रहेका छन्।
यस ग्रन्थमा दुर्गालाई अद्भूत क्षमता भएकी निकै पराक्रमी र शक्तिशाली देवीका रुपमा चित्र्याइएको छ।यही दुर्गासप्तशतीको अर्गलास्तोत्रमा दुर्गालाई निम्न किसिमका विभिन्न नामबाट पुकारी आराधना गरिएको पनि छ-
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।।
दुर्गासप्तशतीको पूर्वाङ्गको देवी कवचमा देवीका नौ रुपको चर्चा गरिएको छ। ती नौ रुप वा स्वरुपलाई नवदुर्गा पनि भनिन्छ। नवदुर्गा भनेका शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा,कुशमाण्डा, स्कन्दमाता,कात्यायनी,कालरात्री, महागौरी र सिद्धिदात्री हुन्।नवरात्रको नौ दिनमा यी दुर्गाका विभिन्न स्वरुपहरूको पूजा आराधना गर्ने प्रचलन छ। दुर्गालाई महाकाली,महालक्ष्मी र महासरस्वतीको संयुक्त स्वरुप पनि मानिन्छ। दुर्गालाई ब्रह्मा,विष्णु,शिव सहित सम्पूर्ण देवताहरूको शरीरबाट निस्किएकी अत्यन्तै तेज र शक्ति भएकी देवीको रुपमा चिनाइएको पनि छ।
हामीले पुज्ने र पढ्ने यी र यस्तै ग्रन्थभित्र सामान्य पौराणिक कथा मात्र नभएर जीवन र जगतका निकै गहिरा बहुपक्षीय विषयहरू समेटिएका छन्।दुर्गा सप्तशतीलाई पौराणिक, धार्मिक, आत्मिक,सांस्कृतिक,नैतिक,सामाजिक,व्यावहारिक,राजनीतिक,भाषिक आदि विभिन्न तरिकाले यसको महत्त्वका बारेमा चर्चा गर्न सकिन्छ।अहिलेको आधुनिक युगमा पनि यी पौराणिक कथाहरू मार्फत मानव जीवनलाई चाहिने थुप्रै व्यवहारिक र जीवनोपयोगी ज्ञानहरू यहाँ छन्।दुर्गा मातालाई नारीशक्तिको ऊर्जाको प्रतीकका रुपमा मान्न सकिन्छ।आजको पुरुष प्रधान समाजले नारीहरू शारीरिक,मानसिक,भावनात्मक रुपले निकै कमजोर हुन्छन् भनिरहँदा नारीहरू परिआउँदा निकै शक्तिशाली पनि हुन्छन् भन्ने सन्देश दुर्गासप्तशती कथामा छ। नारीहरू शैलीपुत्री र ब्रह्मचारिणी जस्ता दृढ संकल्पी,ज्ञानी र तपस्यी,स्कन्दमाता र महागौरी जस्ता मातृत्व,करुणा,प्रेम र शान्तिका खानी अनि कालरात्रीजस्ता अन्याय,अत्याचार र दुष्टसँग लड्ने वीर र साहसी पनि हुन्छन् भनिएको छ। अहिलेको आधुनिक युगमा नारीवादका कुराहरूसँग दुर्गासप्तशतीको कथालाई दाँज्न पनि सकिन्छ। यसमा रहेका महिषासुर,शुम्भ र निशुम्भ जस्ता राक्षसलाई पितृसत्तात्मक अहंकारका प्रतीक मान्न सकिन्छ।
दुर्गासप्तशतीको कथामा ब्रह्माण्डको सर्वोच्च शक्ति पुरुष नभएर स्त्री हो भनिएको छ। कथामा ब्रह्मा, विष्णु र शिवसमेत सङ्कट पर्दा दुर्गाको शरणमा पुगेका छन्।हो,नारीहरू भनेका माता हुन्। मातामा सृष्टि गर्ने, हुर्काउने, पालनपोषण गर्ने विचित्रको अद्भुत शक्ति र सामर्थ्य हुन्छ। माताहरू आफ्ना सन्तानको विरुद्धमा जस्तोसुकै लडाइँ लड्न तयार हुन्छन्।आमा वा मातालाई आफ्ना सन्तान जत्तिको माया आफ्नो पनि हुँदैन।
यो कथामा दुर्गाका विभिन्न स्वरुप र कथामा रहेका विभिन्न पात्रहरूलाई विभिन्न प्रतीकको रुपमा हेर्न सकिन्छ।यी पात्रहरूका मार्फत हाम्रा मनभित्रका विकारहरूलाई त्याग्न पनि सन्देश दिइएको छ।यहाँ अहङ्कार र अज्ञानताको प्रतीक महिषासुर,रिस र द्वेषको प्रतीक मधुकैटभ,क्रोधको प्रतीक चण्डमुण्ड, इच्छा र वासनाको प्रतीक रक्तबीज रहेका छन्।नवरात्रमा दुर्गाको स्थापना गरी दुर्गापाठ गरेर हामीभित्र रहेका यस्ता काम,क्रोध,लोभ,मोह,मद र मात्सर्यजस्ता शत्रुलाई देवीको अगाडि नै त्याग्नुपर्छ भन्ने सन्देश यस पुराणबाट प्राप्त गर्न सकिन्छ।
अहिलेको यो वर्तमान आधुनिक युगमा मानिसहरू हिन्दु धर्मका पुराणहरूजस्ता धेरै पवित्र ग्रन्थहरू महत्त्वहीन बनाएर अँध्यारो कोठामा थुपारेका पनि छन्।तर, जीवन र जगतका वास्तविक अर्थ र गहिराई बुझ्न यी पुस्तकहरू निकै महत्त्वपूर्ण छन् ।अहिलेको यो उकुसमुकुस र यान्त्रिक जीवनशैलीबाट छुटकारा पाउनको लागि त झन पुराणहरू निकै सहयोगी स्रोत सामग्री बन्न सक्छन्। अहिलेको नवपुस्ताले त झन यी ग्रन्थहरू खोजीखोजी पढ्नुपर्ने नै देखिन्छ।अहिलेका आधुनिक पुस्तकहरूमा ज्यादा विज्ञान छ भने प्राचीन पुस्तकहरूमा विज्ञानभन्दा माथिका ज्ञान छन्।प्राचीन ग्रन्थहरूमा मानवता, नैतिकता,कर्तव्य,न्याय,कर्म,सुशासन,संवेदना,सहानुभूति आदि जस्ता जीवनका अत्यन्तै महत्त्वपूर्ण गहिरा र फराकिला ज्ञानहरू पाइन्छन्।नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समले आफ्नो सुप्रसिद्ध ग्रन्थ प्रह्लाद नाटकमा पनि ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ भनेका छन्।जीवन र जगतका निकै गहिरा र अर्थपूर्ण ज्ञान प्राप्तिका लागि हिन्दु धर्मग्रन्थहरू निकै उपयोगी रहेका छन्। यी ग्रन्थहरूको पाठ र अध्ययनबाट चामत्कारिक रुपमा भौतिक कुराहरूको आविष्कार नै गर्न नसके पनि आत्मिक र मानसिक रुपमा मानिसलाई आवश्यक पर्ने ऊर्जा प्राप्त गरी विकारहरूलाई हटाउन सकिन्छ।
(भर्जिनिया, अमेरिका)








