२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पश्चिम नवलपरासीमा थारुहरुकाे महान पर्व माघी तथा थारु सम्वत् २६४४ आजबाट सुरु

पश्चिम नवलपरासीमा थारुहरुकाे महान पर्व माघी तथा थारु सम्वत् २६४४ आजबाट सुरु

थारुहरुको महान पर्व माघी आजबाट शुरु भएको छ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा पनि मनाउने गर्दछन् । भने आजबाट थारुहरुको थारु सम्वत् २६४४ शुरु भएको छ । थारुहरुले यस पर्वलाई ठाउँ अनुसारको नामले मनाउने गर्छन् । कतै माघी, कतै माघ, कतै खिचडी त कतै माघे संक्रातीका नामले पनि मनाउने गर्दछन् । माघीको पहिलो दिन गाउँभरीका, आफन्तीहरु जम्मा भई ‘काटमार मनाउने गर्दछन् ।

पुस मसान्तका दिन काटमार अर्थात सुँगुर, बंगुर काट्ने र माघ १ गतेदेखि धुमधामसककग नाच्ने र गाउने रमाउने चलन छ । पुस मसान्तका राति बडघरका घरमा माघी पर्वमा गाइने धुम्रु गीत गाउँदै रातभरि नाचगान गरी जाग्राम बस्ने र बिहान माघ १ गते नाच्दै नजिकैको नदी तालतलैयामा नुहाउन जाने परम्परा छ । यसलाई थारूहरू ‘माघ लहैना’ भन्छन् । ‘‘पहिले वर्ष भरी हरवाही अर्थात मजदुरी गरी थाकेका यस समुदायका मानिसहरु आफुले गरेको मजदुरी बापतको ज्याला जम्मा गर्ने गर्दथ्ये” रामग्राम नगरपालिका वडा नम्बर १ की ७० वर्षीय बृद्ध कृष्ण कुमारी थरुनीले भन्नुभयो ।

उहाँका अनुसार काटमारका दिन ज्याला जम्मा गरी माछा, मासु किनेर आजैबाट पोखरी तलाउका माछा मार्ने, बुगुंर मार्ने र मिठा–मिठा परीकार पकाएर खाने–खुवाउने गर्दछन् । आ–आफ्ना चेलीबेटी, आफन्तजनहरुलाई बोलाउने, सुःख दुखका कुरा, रमाईलो साटासाट गर्ने गरेका उहाँले बताउनुभयो । माघी पर्व माघ १ गतेबाट माघे औँसीका दिनसम्म मनाउने गरीन्छ । माघ १ गते थारु समुदायका मानिसहरु बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ । यसैदिनदेखी यस समुदायमा माघे औँसीका दिनसम्म खिचडी पकाएर खाने चलन रहेको पनि बृद्धा थरुनीले बताउनुभयो ।

माघी पर्वमा घरमा भएका अनाज जस्तै चामल, दाल, घिउ, अदुवा, बेसार आदि मिसाएर खिचडी बनाएर खाने प्रचलन छ । थारुहरुको खाने विषेश परिकार नै चिच्चर ‘चेची” र माछा अनिवार्य रुपमा पकाएर खाने गर्छन् । यो पर्वमा थारू समुदायका घरमा खासगरी सुँगुर, बंगुरको मासु खाने चलन छ । माघीमा जाँड, सुँगुर र बंगुरको मासु खाने चलन भएकोले थारू गीत पनि त्यसै अनुसार गाइएका छन् । माघी पर्वमा दिदीबहिनी तथा साथीभाइलाई आमन्त्रण गर्ने काम पनि भइरहेको छ । पछिल्लो समय माघीमा नुहाउने घाटमा मेला लगाउने चलन बढ्दै गएको छ ।

यस्तै थारू समुदायका लागि चाहिने बडघर, चौकीदार र गुरुवा छान्ने काम पनि यही बेला हुने गर्दछ । कमैयामुक्तिको घोषणा पूर्वकमैया राख्नका लागि हुने खोजीको परम्परा भने अहिले हटेको छ । अधियामा जग्गा जोत्ने नजोत्ने छिनोफानो भने यही बेला गर्छन् । माघीका अवसरमा थारु समुदायले देशका विभिन्न स्थानमा कार्यक्रम, बृहत मेला गरेर मनाउँदै आएका छन् । तर यस वर्ष कोरोना महामारीका कारण धेरै ठाउँमा कार्यक्रम, माघी महोत्सव गरेर मनाईएको छैन् भने कतै बृहत कार्यक्रम नै आयोजना गरीएको छ । यसैबिच पश्चिम नवलपरासीका विभिन्न स्थानमा माघी महोत्सवको आयोजना गरीएको छ ।

जिल्लाको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा हरेक वर्ष जस्तै यो वर्ष पनि बृहत माघी महोत्सवको आयोजना गरीएको छ । श्रीराम युवा प्रतिष्ठानले आयोजना गरेको उक्त महोत्सव २ दिन सञ्चालन हुने गर्दछ । मनरीमा हुने माघी महोत्सवको चहलपहल राम्रो भैरहेको श्रीराम युवा प्रतिष्ठानका सल्लाहकार सञ्जय चौधरीले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार