गृहपृष्ठ क्रोटोनलाई हराउदै युभेन्ट्स पुग्यो शीर्ष तीनमा
क्रोटोनलाई हराउदै युभेन्ट्स पुग्यो शीर्ष तीनमा
इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीको नाममा एक गोल रह्यो ।
खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २-० को अग्रता बनायो । रोनाल्डोले दुबै गोल हेड मार्फत गरेका थिए । त्यसपछि खेलको ६६ औं मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।
जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलमा ४५ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछि रहेको छ । क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।





