गृहपृष्ठ बजारमा रू.११८ मा पाइने शेयर लिलामीमा रू.३१५.५० सम्ममा बिक्यो,एनसिसिबाट एनबि समूह बाहिरिँदा मालामाल
बजारमा रू.११८ मा पाइने शेयर लिलामीमा रू.३१५.५० सम्ममा बिक्यो,एनसिसिबाट एनबि समूह बाहिरिँदा मालामाल
एनबि समूहअन्तर्गतका विभिन्न कम्पनीहरूले लिलामीमा राखेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसि) बैंकको संस्थापक शेयर ओभर सस्क्राइब भएको छ। बजारमा एक सय १८ रुपैयाँ मूल्य रहेको कम्पनीको शेयर लिलामीमा अधिकतम तीन सय १५ रुपैयाँ ५० पैसा सम्ममा बिक्री भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।
“एनसिसी बैकको लिलामीमा राखेको संस्थापक शेयर ओभर सस्क्राइब भयो। अधिकतम ३१५ रुपैयाँ ५० पैसासम्म बोलिलागेको छ”सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले भने।
श्रेष्ठका अनुसार कम्पनीको प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँमा ४० रुपैयाँ थप गरी प्रति कित्ता मूल्य १४० रुपैयाँदेखि बढीमा बोल कबोल निकालिएको थियो। जसमा एक सय १४ लगानीकर्ताले आवेदन दिएका छन्। आवेदन दिने मध्ये ११० जनाले शेयर प्राप्त गरेका छन्। जसमा केही व्यक्तिगत लगानीकर्ता सहित संस्थागत लगानीकर्ता समेत नयाँ लगानीकर्ताको रुपमा भित्रिएका छन्। ६ कम्पनीले होल्ड गरेको संस्थागत तर्फको ४.७५ प्रतिशत शेयर लिलामीमा राखिएको थियो। लिलामी पछि ४.७५ प्रतिशत शेयरको संस्थापकका रुपमा एक सय १० जना नयाँ संस्थापक कम्पनीमा भित्रिएका छन्।
एनएबि समूहअन्तर्गत रहेको साङ्ग्रिला इन्भेस्टमेन्ट प्रालि, एनबि इन्भेस्टमेन्ट प्रालि, एनबि ग्रुप नेपाल प्रालि, मानाङ्क इन्भेस्टमेन्ट,दोलखा भीमसेन इन्भेस्टमेन्ट र हिमालयन क्यापिटलको शेयर लिलामीमा राखिएको थियो। जसमा २५ लाख कित्ता शेयर लिलामीमा थियो। गत फागुन दुई गतेदेखि लिलामी खुला गरिएको शेयरमा ९ गतेसम्म आवेदन दिने समय तोकिएको थियो। जस अनुसार उसको कट अफ मूल्य १४१.५० रुपैयाँ तय भएको क्यापिटलले जनाएको छ।
बढ्दो बजारको अवस्थालाई हेरेर एनबि समूहले कम्पनीले संस्थापक शेयर बिक्रीमा राखेको जनाएको छ। शेयर किनबेच गर्नु नौलो कुरा नभएको एनबि समूहका प्रबन्ध निर्देशक लक्ष्मीबहादुर श्रेष्ठले बताए। “शेयर किनबेच गर्ने कुरा के नौलो भयो र मूल्य बढेकै बेलामा शेयर बेच्ने होइन र ? ” श्रेष्ठले भने। कम्पनीबाटै बाहिरिनको लागि शेयर बिक्रि नगरेको तर बढेको बजारको दाउ छोपिएको उनको दाबी छ।
तर जानकारहरूका अनुसार कम्पनीले मर्जरमा जाने तयारी गरिरहेको छ। जसमा नयाँ लगानीकर्ता भित्र्याउन पनि शेयर बिक्रिका लागि राखिएको थियो। साथै समूहले पुरानो ऋण चुक्ता गर्न पनि उक्त शेयर बिक्री गरेको बताएका छन्। लिलामीमा भने कम्पनीले निकै राम्रो मूल्य पाएको छ। उसले राम्रै प्रिमियम पाएकोले यो लिलामी एनबि समूहको लागि नाफाको सौदा साबित भएको छ ।@merolagani





