गृहपृष्ठ नेपाललाई थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि, सफल कप्तान विराजको बिदाई
नेपाललाई थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि, सफल कप्तान विराजको बिदाई
नेपाललाई थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि, सफल कप्तान विराजको बिदाई
काठमाडौं ।नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो ।

यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।
घरेलु दर्शकसामु नेपाली टिमले सुरुवातबाटै आक्रमण प्रदर्शन गरेको थियो ।
खेलको १३ औं मिनेटमा संजोक राईको क्रसमा त्रिदेभ गुरुङको फितलो प्रहार बंगलादेशका डिफेन्डरले क्लियर गरे ।
१७ औं मिनेटमा अनन्त तामाङको उत्कृष्ट हेड बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले मुस्किलले बचाएका थिए ।
तर, खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे ।

मिडफिल्डर संजोकको यो डेब्यु गोल हो । संजोकले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।
यस गोलसँगै नेपालको गोलको खडेरी अन्त्य भएको छ । नेपाल पछिल्लो ७ खेलमा गोलविहिन रहेको थियो ।
खेलको ३० औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो । बंगलादेशका गोलकिपर अघि बढेको अवस्थामा अन्जन विष्टको चिप प्रहार पोस्ट माथिबाट गएको थियो ।
खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

रंजित धिमालको लामो पासमा संजोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले पोस्टको जाली चुमाएका हुन् । विशालको यो राष्ट्रिय टिमका लागि चौंथो गोल हो ।
दोस्रो हाफमा नेपालको प्रदर्शन केहि कमजोर देखियो । बंगलादेशले भने केहि गोलको अवसर निकालेको थियो ।
खेलको ६७ औं मिनेटमा यसिन अरफातको प्रहार पोस्ट नजिकबाट बाहिरिएको छ ।
त्यसपछि खेलको ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेपनि नेपाल २-१ ले विजयी भयो । जमल भुयाको कर्नर बलमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरे ।
यससँगै नेपालले तीन खेलपछि बंगलादेशलाई हराउँन सफल भएको छ ।
नेपाललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका रोहित सर्वोत्कृष्ट चुनिएका हुन् ।
सर्वोत्कृष्ट खेलाडी बनेका रोहितले ५ सय डलर प्राप्त गरे ।

नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जन । उनै सफल कप्तान विराजले सोमबार अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका ३० बर्षिय विराजले घरेलु दर्शकमाझ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । क्लब फुटबलमा भने उनलाई देख्न सकिनेछ ।







