२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ त्रिकोणात्मक टी २० सिरिजमा नेपालको पहिलो हार

त्रिकोणात्मक टी २० सिरिजमा नेपालको पहिलो हार

काठमाडौं | त्रिकोणात्मक टी २० सिरिजमा नेपालले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससंग तीन विकेटले पराजित भयो । यो हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा दुई सय ६ रन बनायो । नेपालले नेदरल्याण्ड्सविरुद्ध आज सुरुवात भने राम्रो गर्न सकेन । यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेन । नेपालको स्कोर २० रन हुँदा आशिफ शेख खाता खोल्न नपाउँदै आउट भए । उनले चार बल खेल्दा खाता खोल्न सकेनन् ।

त्यसपछि नेपालको स्कोर ६३ रन हुँदा दोस्रो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । उनले १३ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलविच ७८ रनको साझेदारी भएको थियो । जसमा कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतले ६२ रन बनाए । ४६ रनको अवस्थामा उनले नो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । उनी डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडी बने ।

त्यसपछि नेपालको स्कोर एक सय ५४ रन हुँदा चौथो विकेट गयो । नेपालका दिपेन्द्रसिंह ऐरी ६० रनमा आउट भए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । दिपेन्द्रले पनि टी २० मा पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउन सफल भए

त्यसपछि कुशल मल्लले सात बलमा तीन छक्काको मद्दतले १८ रन बनाएर आउट हुँदा नेपालको स्कोर एक सय ७६ रन बनाएको थियो । लगत्तै क्रिजमा आएका करण केसी एक रनमा आउट हुँदा नेपालले एक सय ७८ रनमा छैटौं विकेट खेर फाल्यो ।

टी २० क्रिकेटमा नेपालको यो दोस्रो उच्च स्कोर हो । यसअघि नेपालले मलेसियाविरुद्ध एक सय ७३ रन बनाएको थियो । नेपालले टी २० मा भुटानविरुद्ध १३ औं दक्षिण एशियाली खेलकुद सागमा दुई सय ३६ रनको उच्च स्कोर बनाएको थियो । अन्तिममा सोमपाल कामीले रनको योगदान गरे ।

बलिङमा नेदरल्याण्ड्सका पिटर सेलार र भिभिन किंग्माले दुई दुई विकेट लिए ।

जवाफमा नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले उसको स्कोर १४ रन हुँदा पहिलो विकेट लिन सफल भयो । मलेसियाविरुद्ध शतक प्रहार गरेका म्याक्स ओदोउदलाई सन्दिप लामिछानेले नौ रनमा आउट गरे ।

दोस्रो विकेटका लागि टोबीस भिसी र बेन कुपरले अर्धशतकीय साझेदारी गरेका थिए । तर भिसीलाई सन्दिपले नै ब्यक्तिगत १५ रनमा पेभेलियन फर्काए ।

त्यसपछि नेदरल्याण्ड्सको स्कोर एक सय ३३ रन हुँदा सन्दिपले नै तेस्रो सफलता दिलाए । उनले बेन कुपरलाई ५५ रनमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

त्यसको लगत्तै नेदरल्याण्ड्सले चौथो विकेट गुमायो । उसको स्कोर एक सय ३३ रन हुँदा आर्यन दत्तलाई कुशल मल्लले ऐरीको हातबाट क्याच आउट गराए । उनले खाता खोल्न सकेनन् ।

पाँचौ विकेटका लागि डास डी लिडी र कप्तान पिटर सेलारविच ४९ रनको साझेदारी गरेका थिए । तर पिटरलाई सन्दिपले ब्यक्तिगत ३१ रनमा आउट गरे । उनले लगातार तीन छक्का खाएपछि विकेट लिएका हुन । जसका कारण नेदरल्याण्ड्सले एक सय ८२ रनमा पाँच विकेट गुमायो ।
लगत्तै अभिनाश बोहोराले स्कट इडवार्डलाई दुई रनमा पेभेलियन फर्काएपछि नेपालले छैटौं सफलता हात पार्यो । जसका कारण नेदरल्याण्ड्सले एक सय ९१ रनमा छैटौं विकेट गुमायो । नेदरल्याण्ड्सको जितमा बास डी लिडीले ८१ रन बनाए ।

अन्तिम ओभरमा नेदरल्याण्ड्सका लागि जितका लागि ६ रन चाहिएको थियो । जसमा उसले लगातार दुई चौका प्रहार गर्दै जित निकाल्यो । बलिङमा नेपालका सन्दिप लामिद्धानेले चार विकेट लिए । उनले कुल ४८ रन खर्चिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार