गृहपृष्ठ तिलोत्तमा नगरपालिकामा करिब आठ हजारले भरे सुकुम्बासी आयोगको फारम
तिलोत्तमा नगरपालिकामा करिब आठ हजारले भरे सुकुम्बासी आयोगको फारम
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा झण्डै आठ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, एक हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र पाँच हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन् ।
नगरपालिकाले दिएको विवरणअनुसार सबैभन्दा बढी वडा नं. ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ । यहाँ १८० जना भूमिहीन दलित, ५३५ जना भूमिहीन सुकुम्बासी र दुई हजार ७६ जना अव्यवस्थित बसोबासी गरी दुई हजार ७९१ जनाले फारम भरेका छन् । यस्तै वडा नं. १२ बाट भूमिहीन दलित ८२, भूमिहीन सुकुम्बासी २१८ र अव्यवस्थित बसोबासी ७९६ गरी एक हजार ९६ जनाले फारम भरेका छन् ।
वडा नं. ७ बाट ५६२, वडा नं. १० बाट ५५३, वडा नं. ४ बाट ५३३, वडा नं. ३ बाट ४५९, वडा नं. १४ बाट ४२३ जनाले आयोगको लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ । वडा नं. १७ मा सबैभन्दा कम भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फारम भरेका छन् । वडा नं. २ मा ७४, वडा नं. ५ मा ७२, वडा नं. ९ मा ८१ जनाले आयोगको फारम भरेका छन् ।
यसैगरी वडा नं. १ बाट १४१, वडा नं. ६ बाट ३१६, वडा नं. ८ बाट ३६६, वडा नं. १३ बाट १५९, वडा नं. १४ बाट ४२३, वडा नं. १५ बाट १०७ र वडा नं. १६ बाट १३६ जनाले आयोगको लगत संकलन फारम भरेका छन् । तिलोत्तमा नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचनाअनुसार माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो । कतिपय वडाले टोल–टोलमैं पुगेर लगत संकलनको काम गरेका थिए । त्यसको लागि सम्बन्धित वडा सचिवलाई जिम्मेवारी दिइएकोमा जनप्रतिनिधिहरुको साथैं वडास्तरीय सहजीकरण समितिको सहयोगमा लगत संकलन गरिएको थियो । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा ईन्ट्री गर्ने, फाईल स्क्यानिङ गर्नेलगायतका काम अघि बढेको शाखा अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जग्गा नापजाँचको लागि आयोगले खटाएका सर्वेक्षक तथा अमिनबाट फिल्ड निरीक्षणको काम सकिएकोमा वडा नं. ११ मा कन्ट्रोल प्वाइन्ट स्थापनाको लागि पिलर समेत राखिँदै छ । फिल्ड कार्यको लागिको लागि आवश्यक उपकरणको व्यवस्थापन, नापजाँचको लागि जनशक्ति व्यवस्थापन भैसकेको नगरपालिकाले जनाएको छ । शाखा अधिकृत पोखरेलका अनुसार अमिन र सर्वेक्षक गरी १६ जनाको जनशक्ति नापजाँचको लागि खटिने छ । तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको थियो ।





