गृहपृष्ठ आईपीएल -मनीष पाण्डेका कारण वार्नरले गुमाए ‘कप्तानी’?
आईपीएल -मनीष पाण्डेका कारण वार्नरले गुमाए ‘कप्तानी’?
सनराइजर्स हैदराबादले शनिबार कप्तानबाट डेविड वार्नरलाई हटायो। हैदराबादले अचानक वार्नरलाई कप्तानबाट हटाउँदै केन विलियम्सनलाई कप्तानीको जिम्मेवारी दिएको छ।
विलियम्सन जारी सिजनभरका लागि कप्तान चयन भएका हुन्। हैदराबादले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विलियम्सनलाई कप्तानमा चयन गरिएको जनायो।

वार्नरबाट कप्तानी खोस्दै हैदराबादले विलियम्सनलाई कप्तान जिम्मेवारी प्रदान गरेको हो। यस सिजन हैदराबादले खराब प्रदर्शन गरिरहेको छ। विलियम्सन हैदराबादको कप्तान बनेको यो पहिलो पटक भने होइन। उनले यसअघि पनि हैदराबादको कप्तानी गरिसकेका छन्।
उनको नेतृत्वमा हैदराबाद सन् २०१८ मा आईपीएलको फाइनलमा समेत पुगेको थियो। फाइनलमा चेन्नईसँग पराजित भएको थियो।
वार्नरको कप्तानीमा हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ। हैदराबादले वार्नरको कप्तानीमा खराब प्रदर्शन गरेका कारण कप्तानबाट हटाइएको धेरैले आँकलन गरेका छन्। तर, न्यूजिल्याण्डका पूर्व क्रिकेटर तथा वर्तमान कमेन्टेटर साइमन डूलले फरक कारण उल्लेख गरेका छन्।

वार्नरलाई हटाउनुको पछाडि एउटा महत्त्वपूर्ण कारण भएको डूल बताउँछन्। डूलका अनुसार वार्नरको टोली व्यवस्थापनसँग विवाद रहेको थियो। मनीष पाण्डेका कारण वार्नरलाई कप्तानबाट हटाइएको डूलको दाबी छ।
दिल्ली क्यापिटल्ससँगको खेलमा पराजित भएपछि वार्नरले पाण्डेको बारेमा प्रतिक्रिया दिएपछि उनलाई कप्तानबाट हटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पाण्डेले दिल्लीविरुद्धको खेलमा प्लेइङ–११ मा मौका पाएनन्। वार्नरले पाण्डेलले मौका नपाउनुको कारण बताएका थिए। दिल्लीविरुद्ध ‘सुपर ओभर’मा हारेपछि वार्नरले पाण्डेलाई प्लेइइ–११ मा चयन नगर्नु चयनकर्ताको निर्णय भएको बनाएका थिए।

आफूले पाण्डेलाई खेलाउन चाहेको भएपनि चयनकर्ताले मनीषलाई ‘ड्रप’ गरेको प्रतिक्रिया दिएका थिए। वार्नरले प्रेस कन्फरेन्समा दिएको त्यो अभिव्यक्तिले हैदराबाद टिमभित्र हलचल मच्चिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
क्रिकबजसँगको कुराकानीमा डूलले भने, ‘मनीष पाण्डेबारे दिएको अभिव्यक्तिका कारण वार्नरलाई कप्तानबाट हटाइयो। पाण्डेको बारेमा जे भने पनि उनले चयनकर्तामाथि दोष लगाए। सोही कारण नै वार्नरले कप्तानी गुमाउनु परेको हो।’
जारी सनराइजर्स हैदराबादको प्रदर्शन एकदम निराशाजनक छ। टिमले लगातर हारको सामना गरिरहेको छ। हैदराबादले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा एक म्याचमा मात्र जित निकालेको छ। हैदराबाद २ अंक जोडेर तालिकाको पुछारमा छ।

हैदराबादले आज आफ्नो सातौँ म्यचमा राजस्थान रोयल्ससँग खेल्दैछ। यी दुई टिमबीचको खेल दिउँसो ३: ४५ बजेदेखि दिल्लीमा सुरु हुँदैछ।





