गृहपृष्ठ नेपाल सुपर लिग – बुटवल पेनाल्टीमा चुकेयो, काठमाडौं रेजर्सको दोस्रो जित
नेपाल सुपर लिग – बुटवल पेनाल्टीमा चुकेयो, काठमाडौं रेजर्सको दोस्रो जित
काठमाडौं । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन स्टेफेन बिलोङले निर्णायक गोल गरे ।
आक्रामक खेल पस्किएको काठमाडौंले बुटवलमाथि सुरुवातबाटै दबाबमा राखेको थियो ।
खेलको चौंथो मिनेटमा काठमाडौंका तेज तामाङको क्रसमा स्टेफेन बिनोङको हेडर बुटवलका गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट उत्कृष्ट बचाउ गरे ।
तर, पाँचौं मिनेटमा स्टेफेन बिलोङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाए । सुदिल राईको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठ आउन ढिलो गरेपछि स्टेफेनले सहजै गोल गरेका थिए ।
खेलको छैटौं मिनेटमा बुटवलले पेनाल्टीबाट बराबरी गर्ने मौका पायो । काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाईलडाएपछि बुटवलले पेनाल्टी पाएको थियो ।
तर, पेनाल्टीमा बुटवलका विलियम ओपोकु गोल गर्न चुके । उनको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाऊ गरे ।
खेलको १८ औं मिनेटमा कर्नरबाट आएको बलमा छिरिङ गुरुङको प्रहार बुटवलका डिफेन्डर ओलोलाजा करिमले गोललाइनबाट बचाए ।
पहिलो हाफको इन्जुरी समयमा काठमाडौंका आशिष राईको डिबक्स बाहिरबाटको सशक्त प्रहार पोस्टबारमा लाग्दै फर्किएको थियो ।
खेलको ६४ औं मिनेटमा आशिष लामाको प्रहार पोस्टको नजिकैबाट बाहिरिदा बुटवल बराबरी गर्न असफल भएको थियो ।





