२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज देउवाले पुर्‍याउन सक्लान् बहुमत ? नत्र फर्किनेछन् ओली !

आज देउवाले पुर्‍याउन सक्लान् बहुमत ? नत्र फर्किनेछन् ओली !

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मतमा पराजित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज (वैशाख ३० गते) सकिँदैछ ।

गत सोमबार (वैशाख २७ गते) संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा बहुमत नपुगेपछि सरकार कामचलाउ बनेको छ भने संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन राष्ट्रपति भण्डारीले दिएको ३ दिनको समय आज राति ९ बजे सकिने भएको हो ।

यो समयभित्र विपक्षी दलले बहुमत जुटाई राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न सकेनन् भने संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनु पर्ने हुन्छ । अहिले संसदमा सबैभन्दा ठूलो दल एमाले नै हो भने त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन् ।

यसर्थ आज राति ९ बजेसम्म विपक्षी दलले बहुमत देखाउन सकेनन् भने पुनः ओली नै प्रधानमन्त्री बन्ने सम्भावना छ । ओली प्रधानमन्त्रीबाट हटेकै दिनदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरत त चलिरहेको छ तर बुधबार साँझसम्म विपक्षी दलले बहुमत पुर्‍याउन सकेका छैनन् ।

देउवाका पक्षमा बहुमत पुग्न कांग्रेस, माओवादी केन्द्रसँगै जनता समाजवादी पार्टी ९जसपा० पनि एकमत हुनुपर्छ । तर विश्वासको मत दिने दिन तटस्थ बसेको जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा छैन । विश्वासको मतमा मतदान भएकै दिन सोमबार मध्यराति विज्ञप्ति निकालेर अध्यक्ष ठाकुरले आफू ओलीको विकल्प खोज्ने पक्षमा नरहेको बताइसकेका छन् ।

तर त्यस दिन संसद बैठकमै उपस्थित नभएका एमालेकै माधव नेपाल पक्षका २८ सांसदमध्ये कम्तीमा १६ जनाले राजीनामा दिए संसदको कूल सदस्य संख्या घटाउने र विपक्षीलाई बहुमत पुग्ने बाटो खोल्ने चर्चा पनि व्यापक छ । तर बुधबार साँझसम्म यो विषय पनि टुंगो लागिसकेको छैन ।

आज राति ९ बजेसम्म विपक्षीले कुनै विकल्प निकाल्न सकेनन् भने सरकार गठनको नयाँ प्रक्रिया सुरु हुनेछ । त्यो हो– संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपतिले संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री चयन गर्ने । जुन दल ओलीकै हो भने त्यसको संसदीय दलका नेता पनि उनै ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार