गृहपृष्ठ राष्ट्रपतिले दिएको समय आज सकिँदै, के बन्ला त नयाँ सरकार ?
राष्ट्रपतिले दिएको समय आज सकिँदै, के बन्ला त नयाँ सरकार ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) सकिँदै छ ।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि तीन दिनको समय दिएकी थिइन् । विपक्षी दलबीच सहमति हुन नसक्दा अहिलेसम्म नयाँ सरकार गठनका लागि कसैले विकल्प प्रस्तुत गर्न सकेका छैनन् ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनका लागि जुटे पनि जनता समाजवादी पार्टीमा अन्तरिक विवाद हुँदा सहमति बन्न सकेको छैन । दलहरुबीच आन्तरिक सहमति बन्न नसक्दा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिने सम्भावना बढ्दै गएको छ ।
संविधानको धारा ७६ (२) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको समर्थनमा संयुक्त सरकार गठन गर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार कांग्रेस, माओवादी र जसपासहितको दलको समर्थनमा नयाँ सरकारको दाबी गर्ने सम्भावना भने कायमै रहेको छ । आज बेलुकासम्म कुनै सहमति हनु नसकेमा प्रधानमन्त्रीमा ठूलो दलको नेताको हैसियतले पुनः ओली नै आउनेछन् ।
बुधबारसम्म जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेता संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको विपक्षमा देखिएका छैन् भने अर्का अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईसहितका नेता पक्षमा देखिएका छन् । जसपाभित्र सहमति जुट्न नसक्दा वैकल्पिक सरकार गठन हुने सम्भावना कमजोर बन्न पुगेको हो ।





