२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ एट्लेटिको मड्रिडलाई ला लिगाको उपाधि

एट्लेटिको मड्रिडलाई ला लिगाको उपाधि

एजेन्सी । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो । भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिडका ओस्कार प्लानोले एक गोल गरे। खेलमा सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो । ओस्कारले खेलको १८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो ।

रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिकोले उपाधि जितेको हो । दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो । एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो । एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार