२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ बजेट भाषण सुनिरहेका बेला श्यामलाल एक्कासि नाचेपछि…

बजेट भाषण सुनिरहेका बेला श्यामलाल एक्कासि नाचेपछि…

शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाले । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले नाचिरहेका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाए र भने, ‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो ।’

यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो । श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।

श्यामलाल मात्रै हैन आर्थिक वर्ष २०७८/७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् । मासिक तीन हजारका दरले भत्ता बुझिरहेका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन् ।

सरकारले भत्ता बढाएको खबर छोराबाट थाहा पाएका कैलालीको गौरीगङ्गा नगरपालिकाका ७५ वर्षीय हरिबहादुर रोकाया निकै खुशी देखिए । मासिक ३ हजार रुपैयाँ बुझ्दै आउनुभएका हरिबहादुर मासिक ४ हजारका दरले वृद्ध भत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने समान आफैले किन्न पाउने भएँ भन्दै थिए । ‘हाम्रो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुरीमुरी धन्यवाद । अब तैँले हेला गरिस् भने पनि सरकारले पाल्छ केटा हामीलाई ।’ पिताको भनाइ उल्लेख गर्दै छोरा कमल रोकायाले भने । विसं। २०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो ।

बृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार