२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ मेलम्चीबाट काठमाडौँमा पानी नआउने फेरि के भयो समस्या

मेलम्चीबाट काठमाडौँमा पानी नआउने फेरि के भयो समस्या

आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समाधान पनि गर्नेछन् ।
यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

‘सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिन्छ,’ प्रवक्ता पन्तले भने,’त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’

उनका अनुसार करिब दुई महिनमा अब मेलम्चीको पानी काठमाडौं आउने छैन ।

मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भएरनभएको अध्ययन गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परेरनपरेको अध्ययन नगर्न आयोजनालाई दबाव दिएको थियो । प्रोटकेल मिच्दा उद्घाटन २ महिना महिना दिन वर गरेको थियो ।

हतार-हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे र नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका थिएनन् । छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी थियो ।

विज्ञहरुले पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लागको बताएका थिए । भरिएको सुरुङ खाली गराएर कहाँ-कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गराउनुपर्ने थियो ।

पानी भरेपछि चट्टानको प्रकृतिअनुसार सुरुङको संवेदनशील क्षेत्रमा कुनै समस्या देखिएको हुनसक्ने विज्ञ बताउँछन् । त्यसलाई समसमै समाधाननगरे भविष्यमा समस्या हुने विज्ञहरुके चेतावनीपछि असारमा मात्रै परीक्षण गर्ने गरी पानी वितरण थालिएको थियो ।

फरक-फरक ठेकेदारले काम गरेको तथा लामो र संवेदनशील सुरुङ भएकाले एकपटक खाली गरेर परीक्षण गर्नैपर्ने सुरुङ विज्ञ तथा नेपाल टनेल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । सुरुङको कतिपय भागहरु नरम चट्टानका कारण खुम्चिएको हुने भएकाले पानी भरेपछि त्यस्ता भागहरुको अवस्था हेर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार