२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ गाउँका सबै नागरिकमा कोरोना संक्रमण !

गाउँका सबै नागरिकमा कोरोना संक्रमण !

आदर्श गाउँपालिका-१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड-१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त गाउँका ८५ को कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ । सिङ्गो गाउँ नै कोरोना संक्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

गाउँका अधिकांश नागरिकलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिङ्गो गाउँ नै कोभिड संक्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, संक्रमितको उपचारमा पनि समस्या छ ।” उहाँका अनुसार संक्रमितमध्ये दुई स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो ।

यतिमात्र नभई एउटै परिवारका छ जनासम्म सदस्यलाई संक्रमण पुष्टि भएको पाइएको छ । गाउँका अधिकांशलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका छन् ।

संक्रमित देखिएका ५२ मध्ये अहिलेसम्म कुनै संक्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन । संक्रमित देखिएकामा जटिल खालको स्वास्थ्य समस्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होम आइसोलेशनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिनुभयो ।

उक्त गाउँमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण संक्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार