गृहपृष्ठ पारसद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
पारसद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
पारसले मंगलबार एक विज्ञप्ति निकाल्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
अलराउण्डर पारसले सन् २००४ मा राष्ट्रिय टिम डेब्यु गरेका थिए । त्रिवि क्रिकेट मैदानमा प्रिल २३ का दिन आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता उनी टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।
सन् २००९ मा कप्तान चयन भएका पारस २०१९ मा कप्तानी पद छाडेका थिए । उनले विनोद दासको स्थान लिएका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका थिए ।

३३ वर्षीय पारसले नेपालका लागि ६ एकदिवसीय अन्तराष्ट्रिय र १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
पारसले एकदिवसीयमा २ सय ३५ रन बनाउँदा ९ विकेट लिएका छन् । टी-ट्वान्टीमा उनले ७ सय ७४ रन जोड्दा २ विकेट लिएका छन् ।
पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४० लिस्ट ए खेल खेलेका छन् ।
नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भए ।
पारसकै कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।






