गृहपृष्ठ सन्यासपछि पारसले भने ‘अब सिस्टम बनाउन लागि पर्छु’
सन्यासपछि पारसले भने ‘अब सिस्टम बनाउन लागि पर्छु’
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए । उनी नेपाली क्रिकेटका सफल कप्तान हुन् । टी २० विश्वकप खेल्नेदेखि लिएर नेपालले एक दिवसीयमा डेब्यु पनि उनकै कप्तानीमा गरेको थियो ।
सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पारसले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको पनि उल्लेख गरेका छन् ।

सन् २००२ मा १५ वर्षको उमेरदेखि नै पारसले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा शुरु गरेका थिए । त्यतिबेला उनले युएईमा आयोजना भएको अन्डर १५ एसिया कप खेलेका थिए ।
१९ बर्ष नेपाली क्रिकेटमा रहेका पारसले यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रशंसक, मिडियाकर्मी, आफ्नो परिवार र साथीहरुप्रति ऋणी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको विकासका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको पनि उल्लेख गरेका छन् । टिमबाहिर रहे पनि क्रिकेटकै लागि जीवन अर्पित गर्ने प्रतिवद्धता पनि जनाएका छन् । नेपाली क्रिकेट टिमको सिस्टम बनाउनका लागि आफू लाग्ने नेप्लेजलाई बताए ।
करिव डेढ दशकदेखि सिनियर टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । उनले सन् २०१९ मा कप्तान पदबाट राजिनामा दिएका थिए । पारस पछि अहिले नेपाली टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।
पारसको कप्तानीमा नेपाली क्रिकेटले सम्झन लायक उपलव्धिहरु हासिल गरेको छ । सन् २०१० मा डिभिजन ५ खेलेको नेपाली टोलीले तीन वर्षको अन्तरमा डिभिजन टू मा पुगेर सन् २०१४ मा ट्वान्टी–२० विश्वकपसमेत खेलेको थियो ।
नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । उनी नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी पनि हुन् । उनले नेपालले खेलेका सबै स्वरूपको क्रिकेटमा शतक पनि प्रहार गरेका छन् ।
सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेबारीमा समेत रहेका थिए । नेपालबाट १० एक दिवसीय क्रिकेट खेलेका पारसले ३१५ रन बनाएका छन् । जसमा उनको एउटा शतक र एउटा अर्धशतक रहेको छ । यसैगरी एक दिवसीयमा पाँच छक्का प्रहार गर्दा ४० चौका प्रहार गरेका थिए । एक दिवसीयमा उनको सर्वाधिक स्कोर ११५ रन हो ।
यसैगरी उनले नेपालका लागि ३३ वटा टी २० खेलेका छन् । जसमा उनले एक शतक र चार अर्धशतक बनाएका छन् । उनले टी २०मा २६ छक्का प्रहार गर्दा ८२ चौका प्रहार गरेका थिए । उनको टी २०मा सर्वाधिक नटआउट १०६ रन हो ।
यसैगरी राइट आर्म मिडियम फास्ट बलरको भूमिकामा पनि उनी रहेका थिए । एक दिवसीय करियरमा उनले ९ विकेट लिएका छन् । उनको सर्वाधिक सफल स्पेल २६ रन खर्चिएर ४ विकेट रहेको छ । टी २० मा उनले ८ विकेट लिएका छन् । उनको सफल स्पेल ११ रन खर्चिएर २ विकेट रहेको छ ।





