गृहपृष्ठ ओलीले एकलौटी कब्जा गरेपछि नयाँ पार्टी खोल्नु परेको हो : माधवकुमार नेपाल
ओलीले एकलौटी कब्जा गरेपछि नयाँ पार्टी खोल्नु परेको हो : माधवकुमार नेपाल
काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्।
अध्यक्ष नेपालले मंगलबार चन्द्रागिरीमा भएको एक कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन्।
उनले भने, ‘अब केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति बनिसकेपछि, त्यहाँ जाने ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदलाई पुरै पार्टीबाट निष्काशन गरिसकेपछि, हामीलाई पनि पार्टीबाट पुरै निष्काशन गरिसकेपछि हाम्रो सामु अरु कुनै विकल्प बाँकी रहेन।
निष्काशित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपर्थ्यो, कि चुप लागेर सडकमा बस्नुपर्थ्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गरेर हाम्रो नेपाली राजनीतिको, कम्युनिष्ट आन्दोलनको इतिहासमा विद्रोहीहरुले नै सफलता हासिल गरेको विगतको इतिहास, दक्षिणपन्थी अवसरवाद पराजित गरिएको त्यो इतिहासलाई हामीले साक्षि राखेर नयाँ कदम चाल्ने काम गरेका छौँ। र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीं) नामको पार्टी दर्ता गरेका छौँ।’
अध्यक्ष नेपालले आफूहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्याभन्दा बढी केन्द्रीय कमिटी र सांसद दुवैतिर पुग्ने दाबी पनि गरे। केपी ओली र आफूहरुको कित्ता छुट्टिएको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताए।
उनले भने, ‘भोलि पनि कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने, स्वयं नेकपा (एमालें) को केपी ओलीको समूहमा पनि विचारको परिवर्तन भयो भने, धारणामा परिवर्तन भयो भने ढोका सधैँ खुल्ला छ। हामीले पार्टी गठन गर्ने बित्तिकै पनि एकताको निम्ति हामी तयार हुन्छौँ। तर यो गठन गर्नै नदिइकन हामीलाई अलपत्र पार्ने षडयन्त्र भइरहेको छ। हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइराछ। न यता जान दिने न उता जान दिने। न केपी ओलीको गतिविधिलाई अन्त्य गर्ने, रोक्ने, केही पनि नगर्ने अनि त्यसपछि यो मौका समाप्त गर्दिने। अनि हामीलाई सबै किसिमको आन्दोलनबाट बञ्चित पार्ने खालको षडयन्त्रलाई हामि चिर्छौँ। र चिरेर एकताको अभियानलाई निरन्तरता दिँदै जानेछौँ। कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने, एकतावद्ध बनाउने यो अभियान जारी रहनेछ।’





