२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ इसीडी शिक्षक र कर्मचारीले तलब माग गर्दै आन्दोलनमा!

इसीडी शिक्षक र कर्मचारीले तलब माग गर्दै आन्दोलनमा!

काठमाडौं ।

दार्चुलाको महाकाली नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) सरकारले तोकेको न्युनतम पारिश्रमिक माग गर्दै आन्दोलनमा उत्रेका छन् । उनीहरूले सोबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

न्युनतम पारिश्रमिक १५ हजार हो । संघीय सरकारले आठ हजार रूपैयाँ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७८/७९ बजेटको बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । तर महाकाली नगरपालिकाले दिएकाे छैन । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.विजय भूर्तेलका अनुसार हाल इसीडी शिक्षक र विद्यालय कर्मचारीले आठ हजार रूपैयाँ पारिश्रमिक पाएका छन् ।

‘इसीडी शिक्षक र विद्यालय कर्मचारीले हाल आठ हजार रूपैयाँमा मासिक पारिश्रमिक पाउनुभएको छ । संघीय सरकारले परिपत्र जारी गरे पनि हामीले सात हजार थप गरी १५ हजार पुर्याउन सकेका छैनौं,’ डा.भूर्तेलले भने, ‘तर, उहाँहरूको आन्दोलन जायज छ । हाम्रो पनि ऐक्यबद्धता छ ।’

डा.भूर्तेलले महाकाली नगरपालिकाका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक न्युनतम पारिश्रमिक दिन डेढ करोड रूपैयाँ चाहिने र सो रकम नगरपालिकासँग नभएको बताए ।

उनले पारिश्रमिकको समस्या केन्द्र सरकारले नै समाधान गर्नुपर्ने बताए । ‘उहाँहरू (इसीडी शिक्षक र विद्यालय कर्मचारी) लाई मासिक रूपमा न्युनतम पारिश्रमिक दिन नगरपालिकाले डेढ करोड रूपैयाँ छुट्याउनुपर्छ । तर, हामीसँग रकम छैन । यो समस्या केन्द्र सरकारले नै समाधान गर्नुपर्छ ।’

केही उपाय नलागे नगरपालिकाले वित्तीय समानीकरणमा आएको बजेटबाट भए पनि पारिश्रमिक दिन सकिन्छ कि भनेर नगरपालिकामा छलफल भइरहेको डा.भूर्तेलले जानकारी दिए । तर, यसका लागि नगरसभा बैठकको निर्णय चाहिने उनको भनाइ छ । वेवटिभी खबरबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार