गृहपृष्ठ आजका मुख्य खबर : माधव नेपाल पार्टी एकता दौडमा, विप्लवलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव
आजका मुख्य खबर : माधव नेपाल पार्टी एकता दौडमा, विप्लवलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव
काठमाडौं, १३ पुस। निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् ।
आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको आवश्यकता औँल्याउँदै वामपन्थी पार्टीका नेताहरूले पार्टी एकतामा जोड दिएका थिए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपाको विघटनको दोष एकअर्कालाई लगाउने प्रयास गरेका नेताहरूले अन्ततः पार्टी विभाजनको आत्मसमीक्षा गर्दै पार्टी एकतामा जोड दिए ।
यसको तेस्रो दिन मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ ।
विप्लवलाई विचार र चिन्तन परिवर्तन गर्न आग्रह
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।
राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिए ।
जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।
‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले न्युज कारखानसँग भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’ उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए ।
एमसिसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीति प्रतिवेदन पेस गरेका छन् ।
उनले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।
प्रचण्डले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीबारे के उल्लेख गरेका छन् भन्ने चासो यतिबेला उनका पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि रहेको छ । कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको छ र उनको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई पास गर्न चाहिरहका छन् ।
माओवादीको बन्दसत्रको दोस्रो दिन के-के भयो ?
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र दोस्रो दिन मंगलबार पनि जारी रह्यो । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए ।
मंगलबार भने प्रचण्डले प्रस्तुत गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि दिनभर समूहगत छलफल भयो । समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो ।
कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ । निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित भएका छन् । सभापतिसहित ९ जना पदाधिकारिमा संस्थापन पक्षका सबै उम्मेदवार निर्वाचित भएका छन् ।
घरकै धारा पानी आउँदा स्थानीय महिला खुसी
इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको जुकेपानी–बजाउने डाडा–बनगाउँ लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले खानेपानी आयोजनाको उद्घाटन गर्दै पानी बोक्दा आङ खस्ने महिलालालाई घर छेउमा पानी खस्दाको खुसी पुरुषलाई कम महसुस हुने बताए ।
‘एक घर एक’ धारा अभियानमार्फत खानेपानी समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाले खानेपानी योजना सञ्चालन गरेको थियो । खानेपानी योजना पुस २०७६ मा सम्झौता भएर चैत २०७७ मा सम्पन्न भएको थियो । ६४ लाखभन्दा बढी लागतमा सो आयोजना सम्पन्न भएको बताइएको छ ।
सिरहामा भोलिसम्मका लागि निषेधाज्ञा जारी
सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबाया लागूहुने गरी निषेधाज्ञा जारी गरेको हो ।
चार दिनमा अमेरिका र युरोपमा साढे ११ हजार उडान रद्द
कोभिड संक्रमण तह उच्च विन्दुमा पुगेपछि युरोप र अमेरिकाका विभिन्न राज्यमा गरी ११ हजार ५०० उडान रद्द हुनुका साथै १०औं हजारभन्दा बढी उडानमा ढिलाई भएको छ । कोभिड संक्रमण बढेपछि शुक्रबारदेखि सोमबारको अवधिमा यति ठूलो संख्यामा हवाई उडान प्रभावित भएको हो ।
उडान रद्द हुँदा विशेष गरेर क्रिसमसको अवसरमा छुट्टी मनाउन जाने र घर फर्किने लाखौं मानिसहरु प्रभावित भएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण युरोपका अधिकांश देशमा नयाँ प्रतिबन्ध घोषणा गरिएका छन् ।
महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा
दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।
सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ को लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।
अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किए
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन् ।
२८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए ।









