२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं, १८ माघ। निर्वाचन आयोगले आउँदो जेठ ४ गते स्थानीय तय भएको स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च हुने अनुमान गरेको छ । आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनमा ८ अर्ब भन्दा बढी खर्च भएकामा हाल खर्च बढेर १२ अर्ब पुग्ने अनुमान गरेको हो । एकै चरणमा निर्वाचन हुन नसकेमा थप खर्च लाग्ने पनि आयोगले जनाएको छ ।

आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको भेटमा चुनाव खर्चबारे जानकारी गराएको हो । देउवासामु पेस भएको ६ बुँदे प्रस्तावको निर्वाचन खर्च सम्बन्धी बुँदा शीर्षकगत खर्चको विवरण उल्लेख गरिएको छ ।

आयोगका अनुसार निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने हुँदा २०७४ पछि उक्त शीर्षकहरूमा करिब ३० प्रतिशतले वृद्धि हुँदा यस्तो अनिवार्य खर्चमा थप बजेट आवश्यक पर्ने देखिएको छ । यसै गरी २०७४ को निर्वाचनपछि २० लाख मतदाता थपिएकाले सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुने देखिएको आयोगको भनाइ छ ।

यस्तै मतदान शिक्षालाई प्रविधिमैत्री तथा व्यापक र प्रभावकारी बनाइ नयाँ प्रविधिको प्रयोग गर्न थप सामग्री र जनशक्तिको आवश्यकताले थप बजेट चाहिने पनि आयोगले जनाएको छ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि आवश्यक सामग्री र कोभिडसम्बन्धी सुरक्षा मापदण्ड पालना गर्न पनि थप बजेट चाहिने आयोगले जनाएको छ । हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रास्फीति समेतलाई मध्यनजर गर्दा समग्र निर्वाचन खर्च बढ्ने देखिएको आयोगको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार