२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ विकास र सामाजिक न्यायका लागि एमाले चाहिन्छ भन्ने जनताले राम्रोसँग बुझेका छन : उपाध्यक्ष पौडेल

विकास र सामाजिक न्यायका लागि एमाले चाहिन्छ भन्ने जनताले राम्रोसँग बुझेका छन : उपाध्यक्ष पौडेल

रुपन्देही, १५ वैशाख । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा विकसीत भएको बताउनुभएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडक लगायत अन्य पूर्वाधार निर्माणको विकासले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको उहाँले उल्लेख गर्नुभयो । नेकपा एमाले बुटवल उपमहानगरपालिका –१३ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाँले पार्टी प्रति समर्पित कार्यकर्ताले विकासका लागि सहि जनप्रतिनिधी छनौट गरेकाले यो ठाउँलाई विकासको उचाइमा पु¥याउन सफल भएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको तिनाउ र दानव नदीमा दर्जनौ पुल बनेका कारण वारी र पारीको विभेद हटेको भन्दै उहाँले पूर्वाधार विकास, सामाजिक न्यायको कामलाई सँगसगै अगाडी बढाएको उल्लेख गर्नुभयो । बुटवल–गैडहवा सडक निर्माणसँगै दाउन्नेमा सुरुङ निर्माण तथा सिद्धबाबामा समेत सरकारकै लगानीमा सुरुङमार्ग निर्माणकालागि डिपिआर अध्ययन भइरहेको बताउँदै उहाँले केही समयमै बुटवल–पोखरा र बुटवल – गोरुसिङ्गेको काम शुरु हुने उहाँले बताउनुभयो । “बुटवल जितगढी स्थित तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दै छ, इन्जिनियरको सल्लाहमा काम हुन्छ ”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारले देशका ७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार १६५ अस्पतालको सिलान्यास गर्ने काम भए पनि वर्तमान सरकारले यो योजना कार्यान्वयनमा बाधा उत्पन्न गरेको बताउनुभयो । नागरिक प्रति दायित्व बोध गर्ने पार्टी भएकाले एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको स्मरण गर्दै पुर्व अर्थमन्त्री पौडेलले भन्नुभयो,“ खानेपानी स्वच्छ भए नागरिक स्वस्थ हुन्छन् भन्ने मनसायले निशुल्क पानी उपलब्ध गराउने योजना ल्यायौँ, तर अहिलेको सरकारले न योजनाको विरोध गर्छ न त कार्यान्वयन गर्छ ।”

“एमाले छ विकास छ, एमाले छैन विकास छैन । विकास र सामाजिक न्यायका लागि एमाले चाहिन्छ भन्ने जनताले राम्रोसँग बुझेका छन्”, उपाध्यक्ष पौडेलले भन्नुभयो । उपाध्यक्ष पौडेलले तिनाउ नदी करिडोर निर्माणका साथै सुकुम्बासी बस्तीमा लालपूर्जा वितरणको कामले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले लालपूर्जा वितरणका लागि आयोग बनायौ, जग्गा नापजाँच गरेर प्रक्रिया पुरा गर्ने समयमा वर्तमान सरकारले आयोग खारेज गरिदियो तर अब एमाले नेतृत्वमा बन्ने सरकारले यो काम पूरा गर्छ । ”उपाध्यक्ष पौडेलले भन्नुभयो ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, जिल्ला अध्यक्ष तेजेन्द्र केसी नेताहरु पुरुषोत्तम घिमिरे, मधुकला कुँवर, दिपक पन्थी लगायतले जनताको मुहारमा खुशी ल्याउन एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताउनुभयो । नेकपा एमाले बुटवल उपमहानगरपालिका –१३ को अध्यक्षमा शोभाखर पोखरेल, महिला सदस्यमा मन्दिरादेवी गौडेल, दलित सदस्यमा कृष्णा सुनार, सदस्यमा झबिन्द्र थापा र दलबहादुर थापाले उम्मेदवारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार