गृहपृष्ठ बुटवलमा भोली गठबन्धनको चुनावी सभा : प्रधानमन्त्री देउवा लगायतका नेताहरुले सम्बोधन गर्ने
बुटवलमा भोली गठबन्धनको चुनावी सभा : प्रधानमन्त्री देउवा लगायतका नेताहरुले सम्बोधन गर्ने
बुटवल । नेपाली काँग्रेसले भोली २४ गते शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ ।
स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएपछि अहिले कार्यकर्तामा उत्साह छाएको छ । चुनावी एकतालाई परिणाम दिन र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली काँग्रेस क्षेत्र नं। २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले बताउनु भयो ।
पाँच दलीय गठबन्धनले आयोजना गरेको यो कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
बिहान १० बजे आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकता, भातृ तथा सुभेच्छुक संघसंस्था र आम समुदायलाई सहभागिताको लागि अपिल गरिएको र यो कार्यक्रममा एक लाख बढीको सहभागिता हुने अपेक्षा गरिएको सचिव गिरीले बताउनु भयो ।





