गृहपृष्ठ बुटवल उप-महानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उप-महानगर
बुटवल उप-महानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उप-महानगर
बुटवल । रुपन्देहीको बुटवल उप-महानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उप-महानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्ष माथिका उमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उप-महानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । बुटवल उप-महानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उप-महानगर घोषणा गरेको जानकारी गराएका थिए ।
बुटवल उप-महानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए। उनले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार, छुट नागरिकहरुलाई खोप सेवा प्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए ।
बुटवल उप-महानगरपालिका उप-प्रमुख सावित्रा देवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवाप्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लिन आह्वान गरिन् । उप-महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्र मणि खनालले उप-महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराए।
उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए। कार्यक्रममा कोभिड-१९ नियन्त्रणका लागि बुटवल उप-महानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्यकार्यालय, सामाजिकतथा गैरसरकारी संघसंस्थाहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उप-महानगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य र शिक्षाका कार्यक्रम सञ्चालन गर्छौं : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् । बुटवल उप-महानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उप-महानगर घोषणा कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालनगर्ने बताए । मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने तयारी गरेको बताए । ‘गाउँटोलसम्म पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नै परिचालन गर्ने गरी चुलो सुधार कार्यक्रम हामीले बुटवल उप-महानगरपालिकाबाटै शुरु गर्ने तयारी गरेका छौं’–उनले भने–यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुनमोडलमा सञ्चालनगर्ने टुंगो लगाउँछौं ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी काम हुन सकेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका गौरव ढकाल, बुटवल उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले बोलेका थिए ।





