२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ जंगलमा प्रेमिकाको हत्या गरी दुई बर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

जंगलमा प्रेमिकाको हत्या गरी दुई बर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

सालझण्डी । २०७७/१०/१० गते दिउसोको फायरलाईन जंगलमा घाँस काट्न गएका स्थानिय व्यक्तिले एक गर्भवति महिलाको हत्या भएको अवस्थाको लाश देखेपछि ईलाका प्रहरी कार्यालय सालझण्डी प्रहरीलाई खबर गर्दछन् । तत्काल घटनास्थल पुगेको प्रहरीले पुर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रुखको फेँदमा बाँधी हत्या गरिएको र अनुहारमा किरा परिसकेको अवस्थाको उक्त वेवारिशे महिलाको लाशको घटनास्थल र लाशजाँच मुचुल्का गरी पोस्टमार्टमका लागि उक्त वेवारिसे लाशलाई प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । सो पश्चात प्रहरीले ति महिला को हुन् र कहाँकि बासिन्दा हुन् भन्ने कुरा पत्ता लगाउन चौतर्फि खोजतलास गरेको थियो तर पनि लाशको सनाखत नै हुन नसकेपछि उक्त ज्यान मुद्दाको फाईल हालको साउन महिना सम्म पेन्डिङ अवस्थामा नै रहेको थियो ।

ईलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी आए पश्चात पेन्डिङमा रहेको मुद्दाको थप अनुसन्धान गर्ने क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराई हालसम्म पनि फेला नपरेका महिलाहरुको विवरण मगाएर अनुसन्धान गर्छन् तर पनि कहिँकतै कुनै पनि जिल्लामा उक्त हत्या गरिएकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी वा खोजतलासको लागि दिएको निवेदन समेत फेला पर्दैन । त्यस पश्चात प्रहरीले ति महिलाको लाशको फोटो र उनले लगाएको कपडा, घडी र माला लिइ स्थलगत रुपमै खोजि गर्दछ । रुपन्देही जिल्लामा केहि पत्ता नलागेपछि कपिलवस्तु जिल्लाका बिभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमाण्डमा प्रहरी टोली नै खटिई गई अनुसन्धानको क्रममा यहि साउन महिनामा उक्त हत्या गरी छाडिएकी महिला गुल्मी जिल्ला साबिक अर्खवाङ वडा नं २ की ३५ बर्षिया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्न आउँछ ।

त्यसपछि प्रहरीले उक्त महिलाका बुबा बर्ष ७० का भक्तिराम अर्याललाई गुल्मीबाट झिकाई उक्त लाशको सनाखत गराएको थियो । बुबा भक्तिराम अर्यालले लाशको हातमा भएको टाटु, आफ्नी श्रीमतीलाई भनि किनिदिएको घडि श्रीमतीले आफूलाई छोडेर जाँदा नलगेपछि चिनोको रुपमा छोरीलाई दिएको र उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरीको सनाखत गरेका थिए । बसन्ती आफैँले नै १५/१६ वर्षको उमेरमा बिहे गरी घरबाट टाढा भएकि थिईन । यसैक्रममा बुटबलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर उनको कपिलवस्तु शिवराज ७ का काशिराम मुराउसँग भेट हुन्छ जुन समयमा उनि मिस्त्री काम गर्ने भोला लोहारसँग दुईछोरीको साथमा बसिरहेकि हुन्छिन्। कपिलवस्तुको शिवराज नगरपालिका ७ जहभारी बस्ने ३६ बर्षिया काशिराम मुराउ ३ छोरी एक छोराको बाबु हुन्छन् र घरमा श्रीमती समेत हुन्छिन । बसन्तीसँगको प्रेममा परेका लोडर ड्राईभर काशिरामको बसन्तीसँग यौन सम्बन्ध समेत हुन्छ र बसन्ती गर्भवति भएपछि दुबैजना कपिलबस्तुको बुद्धभूमी नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा २०७७ सालको बैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दछन् ।

सोहि बुड्डीमा बसिरहेको समयमा बसन्तीले घरमा बुबा भक्तिराम अर्याललाई फोन गरी हाल आफू काशिराम मुराउसँग रहेको र उनकै गर्भ समेत रहेकाले आफू चैत महिनातिर सुत्केरी हुने भएकिले घिउ बेसार समेत पठाईदिन भन्छिन् । तर सो समयमा काशिरामले बारम्बार गर्भ फाल्नको लागि दवाब दिन्छन् । सो दबाब दिएको कुरामा बारम्बार झगडा भएको र आफूलाई गर्भकै कारण काशिरामले आफ्नो हत्या समेत गर्न सक्ने कुरा बसन्तीले आफ्नी एक साथिलाई बताउँछिन् ।

यसै क्रममा २०७७ सालको पुस महिनाको अन्तिम हप्ता तिर बुटवल गएकी वसन्तिलाई काशिराम मुराउ आफै बुटबल फुलबारि सम्म लिन गई सालझण्डी सम्म बसमा लिइ आई सालझण्डीमा लोकल रक्सि र दालमोट किनी आफुलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने हुनाले नजिकैको जंगलमा जाउ उतै रक्सी खाई रमाईलो गरौला भनी दिउसोको करिब तिन बजे तिर फायरलाईन जंगलमा लिई गई रक्सि सेवन गराई सो समय र स्थानमा आफैले लगाएको गलबन्धीले महिलाको घाटि कसी हत्या गरी लाश नचिनियोस भनेर महिलाले लगाएको स्युटरले मुखमा बेरी नजिकैको रुखमा बाधि दिई उक्त रक्सिको बोतल र महिलाले लगाएका चप्पलहरु समेत वाणगगां नदिमा बगाई दिई फरार भएको कुरा अनुसन्धानको क्रममा हाल खुल्न आएको छ ।

हत्या भएको केही समय पछि निजै काशिराम मुराउले बसन्ताका बुबालाई फोन गरी बसन्ता हराएकी छिन मैले खोजि रहेकी छु, प्रहरी समेतमा मैले नै खबर गरेको छु तपाईले केहि गर्न पर्दैन भनी फोन गर्ने गरेका थिए । कतै कुनै माध्यमबाट बुबाले केही थाहा पाएकि भन्ने कुरा बुझ्नको लागी २०७९ सालको वैशाख महिना सम्म समेत बसन्तीको बारेमा केही पत्तो पाउनु भयो भएन भनि गाउमा बस्ने बसन्तिका ७० बर्षीया बुबा भक्तिराम अर्याललाई सोध्ने गरेका थिए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा बुबाबाट महिलाको सनाखत गराएकोमा मृतकका बुबाले काशिराम मुराउले नै आफ्नी छोरीको हत्या गरेको भनि प्रहरीमा किटानी जाहेरी दिए पश्चात प्रहरीले थप अनुसन्धानको क्रममा काशिराम मुराउलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका कार्यालय प्रमुख  प्रहरी निरिक्षक जगन्नाथ मरासीनिले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार