२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026

गृहपृष्ठ समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ : शेरबहादुर देउवा

समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुरमा उपचारका लागि गएका देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। स्वदेश फर्किएलगत्तै उनले अपिल जारी गर्दै आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सम्पूर्णप्रति आभार प्रकट गरेका छन्।

देउवाले आफू अब देश र जनताको सेवामा समर्पित हुने संकेत गर्दै आफूलाई ‘विनम्र सेवक’का रूपमा प्रस्तुत गरेका छन्। उनले भनेका छन्, “आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु-सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन।” स्वास्थ्य उपचार सकेर पाँच महिनापछि स्वदेश फर्किन पाउँदा आफू खुसी र कृतज्ञ रहेको उल्लेख गर्दै देउवाले परिवर्तनका स्वरलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले अपिलमा भनेका छन्, “कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु।” देउवाले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने, उपचारका क्रममा चासो र चिन्ता व्यक्त गर्ने तथा शुभेच्छा प्रकट गर्ने सबैप्रति धन्यवाद दिएका छन्। स्वदेश फर्किएपछि देउवाको स्वागतका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार