गृहपृष्ठ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छोटो अवधिमै दाताहरूबाट संकलन भयो पौने दुई अर्बभन्दा बढी राहत रकम
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छोटो अवधिमै दाताहरूबाट संकलन भयो पौने दुई अर्बभन्दा बढी राहत रकम
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि संकटग्रस्त घोषित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि खोलिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीव्र गतिमा सहयोग रकम संकलन भइरहेको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्मको ३६ घण्टाको छोटो अवधिमै दाताहरूबाट १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको छ। विभिन्न १० वटा वाणिज्य बैङ्कहरूमा रहेका कोषका खाताहरूमा यो सहयोग प्राप्त भएको हो।
प्राप्त नयाँ सहयोगसँगै उद्धार कोषमा रहेको कुल बचत रकम बढेर ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात रहेको थियो। राहत तथा कोषको व्यवस्थापनका लागि सरकारले अर्थ मन्त्रालयलाई फोकल निकाय तोकेको छ। जसअनुसार संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी रकम सहयोग गर्ने दाताहरूको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमै आफैँ स्वीकार गरिरहनुभएको छ भने व्यक्तिगत नगद सहयोग मन्त्रालयमार्फत सीधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। बिहीबार ६ घण्टाकै अवधिमा निजी क्षेत्रबाट मात्रै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको थियो। उल्लेखित संकलित रकममा विभिन्न मित्र राष्ट्रहरूबाट घोषणा गरिएका वैदेशिक सहायता रकमहरू भने समावेश गरिएका छैनन्।














