गृहपृष्ठ इतिहास रच्दै ‘बझाङ्गी बाघ’: रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बने रवीन्द्र ढाँट
इतिहास रच्दै ‘बझाङ्गी बाघ’: रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बने रवीन्द्र ढाँट
काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) का उदीयमान फाइटर रवीन्द्र ढाँटले चीनको साङ्घाईस्थित अक्टागनमा ऐतिहासिक सफलता दर्ता गराएका छन्। रोड टु युएफसी सिजन–५ को निकै प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा न्युजिल्यान्डका कासिब मर्डकलाई स्प्लिट डिसिजन (२९–२८, २९–२८ र २८–२९) का आधारमा पराजित गर्दै उनी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन्। १५ मिनेटसम्म चलेको यो कठिन र आक्रामक खेलमा दुवै खेलाडीले उत्कृष्ट कौशल प्रदर्शन गरे पनि दुई निर्णायकको समर्थन बटुल्दै रवीन्द्रले बाजी मारे। यो जितसँगै उनी रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब फाइनल उपाधि चुम्न सकेमा उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था ‘युएफसी’ (UFC) सँग व्यावसायिक सम्झौता (कन्ट्रयाक्ट) गर्ने पक्का हुनेछ।
‘बझाङ्गी बाघ’ को उपनामले परिचित रवीन्द्रले आफ्नो एमएमए करिअरका ११ खेलमध्ये १० मा जित हासिल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। सन् २०२३ मा इस्माइल खानसँग व्यहोरेको एक मात्र हारपछि उनले लगातार स्मरणयोग्य प्रदर्शन गरिरहेका छन्। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ मा भारतका चुनरेङ कोरेनलाई नकआउट गर्दै बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली बनेका रवीन्द्रले आफ्नो यात्रालाई थप उचाइ दिएका हुन्। यसअघि गत मे महिनामा मकाउमा भएको रोड टु युएफसीको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै सेमिफाइनल पुग्ने पहिलो नेपालीको कीर्तिमान बनाएका उनले, अब सेमिफाइनलसमेत जितेर नेपाली एमएमएको इतिहासमा अर्को नयाँ र स्वर्णिम अध्याय थपेका छन्।













