गृहपृष्ठ नेपाली साहित्यकार विश्व सञ्जालद्वारा स्रष्टा सम्मानको घोषणा
नेपाली साहित्यकार विश्व सञ्जालद्वारा स्रष्टा सम्मानको घोषणा
बुटवल । विश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई सामाजिक सञ्जाल मार्फत जोडेर परिकल्पना गरिएको नेपाली साहित्यकार विश्व सञ्जाल समूहले नेपाली भाषा साहित्यको विकास, विस्तार, विश्वव्यापीकरण र सम्वर्द्धनका लागि निरन्तर विविध कार्य गर्दै आएको छ। नेपाली साहित्यकार विश्व सञ्जालले नेपाली भाषामा साहित्य सिर्जना गर्ने हरेक सर्जकको साझा प्रतिनिधित्व गर्छ र यसको प्रमुख उद्देश्य भनेको कलमको सम्मान- स्रष्टाको सम्मान हो। अग्रजको सम्मानबाट नै अनुजको सम्मान हुन्छ र सम्मान पनि पुस्तान्तरण हुन्छ भन्ने विचार बोकेको संजालले यस वर्ष २०९ औँ भानु जयन्ती तथा गुरु पूर्णिमाको विशेष अवसर पारेर एक जुम कार्यक्रम गरि पाठशालाका एक प्रशिक्षकको पुस्तक लोकार्पण साथै प्रशिक्षक गुरुहरूलाई ताम्रपत्र सहित सम्मानको कार्यक्रम गरेर मनाउने भएको छ।
सम्मानित प्रशिक्षकहरू –
गजल प्रशिक्षक- डा. घनश्याम परिश्रमी- गजल गौरव श्री सम्मान-२०७९
चारु प्रशिक्षक- डा. देवी पन्थी- चारु श्री सम्मान-२०७९
गद्य कविता प्रशिक्षक- श्री कलानिधि दाहाल- गद्य कविता श्री सम्मान-२०७९
मुक्तक प्रशिक्षक- श्री सुनील अधिकारी -मुक्तक श्री सम्मान-२०७९
पद्य कविता प्रशिक्षक- श्री हरिप्रसाद रिमाल- पद्य कविता श्री सम्मान-२०७९
पद्य कविता प्रशिक्षक- श्री विदुर अधिकारी – पद्य कविता़ श्री सम्मान-२०७९
हाइकु प्रशिक्षक- श्री पुरु सुवेदी- हाइकु श्री सम्मान-२०७८
गीत प्रशिक्षक- श्री ज्ञानेन्द्र गदाल- गीतगाथा श्री सम्मान -२०७९
बाछिटा प्रशिक्षक- श्री अमर त्यागी- बाछिटा श्री सम्मान -२०७९
कोपिला प्रशिक्षक- श्री गिरीराज डल्लाकोटी- कोपिला श्री सम्मान -२०७९
लघुकथा प्रशिक्षक- श्री राजन सिलवाल- लघुकथा श्री सम्मान-२०७९
खोरिया प्रशिक्षक-श्री जनार्दन अधिकारी धड्कन-श्री खोरिया श्री सम्मान-२०७९
संयोजक – श्री कमला महत- साहित्य श्रीवृद्धि सम्मान-२०७९
सहयात्री- श्री कुमार शर्मा -साहित्य सञ्जाल सहयात्री सम्मान- २०७९
यस अघि गजल प्रशिक्षक गजलविद्वोच्छिरोमणि डा. घनश्याम परिश्रमीको गजल कृति “निभेका शिखा” प्रकाशन सहयोग र विमोचन साथै गद्यकविताका प्रशिक्षक वरिष्ठ साहित्यकार कलानिधि दाहालको कविता कृति “आफैँ भए सुन्दर” प्रकाशन गरेर लोकार्पण गरिसकेको सञ्जालले हाल चारु प्रशिक्षक तथा प्रवर्तक डा. देवी पन्थीको कृति “ गजल सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु” पुस्तक प्रकाशन गरेर विमोचन गर्ने भएको छ। यसैगरि निरन्तर अन्य प्रशिक्षकको पुस्तक प्रकाशनको पनि तयारी गरिरहेको सञ्जालले प्रशिक्षकको कृति प्रकाशन पछि आर्थिक अवस्था कमजोर भएका सर्जकका कृति प्रकाशन गर्ने योजना पनि रहेको सञ्जालका परिकल्पनाकार स्पन्दन विनोदले बताएका छन्। उनी भन्छन्-“ यसैगरि हामी हरेक सर्जकलाई लेख्न प्रेरणा दिने काम गरि नै रहने छौँ। यौटा कविता लेख्ने वा लेख्न चाहने कविलाई पनि हामी हराउन दिने छैनौँ। “
वर्षभरी नेपाली साहित्यका विविध विधाका वरिष्ठ साहित्यकारहरूद्वारा निरन्तर प्रशिक्षण रहदैँ आएको र उहाँहरूको सम्मानमा केही गरौँ भन्ने हेतुले यो कार्यक्रमको परिकल्पना गरिएको कवि तथा गजलकार , नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार स्पन्दन विनोदको भनाई छ। कसैलाई देखाउन यस्तो कार्य गरेको नभएर हामी सबैले अग्रजलाई सम्मान गर्ने बानी बसालौँ र उहाँहरूको बौद्धिक श्रमको अवमूल्यन नगरौँ भन्ने सन्देश प्रवाह गर्न यस्ता कार्यहरू निरन्तर गरिने उहाँको भनाइ रहेको छ। हालसम्म यस समूहले संस्था दर्ता गरेको छैन नि भन्ने प्रश्नमा स्पन्दन विनोदको भने-“ नेपाली भाषा साहित्यको सेवा गर्न संस्था नै बनाइरहन पर्दैन । तर कतिपय काम गर्न संस्था नभएका कारण असहज भने भएको छ। यसलाई मनन गरिरहेको छु। तर विश्वभरका सर्जकहरूको के कस्तो राय हुन्छ त्यस अनुसार हामी चल्नेछौँ।”
नेपाली साहित्यकार विश्व सञ्जाल भनेकै विश्वभर नेपाली भाषामा कलम चलाउने सर्जकको साझा थलो हो, चाहे ऊ जुन सुकै संस्थामा आवद्ध होस् र नेपाली साहित्यकार विश्व सञ्जाल पाठशाला विश्वकै नमुना अनलाईन पाठशालाका रुपमा करिव ३ वर्ष देखि निरन्तर प्रत्येक दिन फरक विधा प्रशिक्षण गराई रहेको छ। यसबाट सयौँ सर्जकलाई सही बाटो देख्न सहज भएको छ। नेपाली साहित्यका धेरै विधालाई विवादित बनाइएका र अन्य पाठशालाले गलत प्रवृत्तिलाई साथ दिइरहेका कारण सर्जक रनभुल्ल पर्ने गरेको अवस्थालाई विचार गरि यस पाठशालाले सही शिक्षा मात्र दिने लक्ष्य बोकेको छ। जस्तै – गजलको संरचना वा सिद्धान्त नै नबुझी समकालीन गजल वा स्वतन्त्र गजलका नाममा बहर विना नै स्वघोषित गजल लेखिएका छन् छापिएका छन् ति गजल हैनन् भन्ने प्रष्ट रुपमा अगाडि आइसकेको छ। त्यस्तै अन्य विधा पनि सत्य तथ्य शिक्षा यहाँ दिने गरेकाले यहाँ सहभागी हुन चाहनेको भीड अत्यन्त धेरै छ ।तर म्यासेन्जरमा २५० जना मात्र जोड्न मिल्ने भएका कारण हाल निस्क्रिय ब्यक्ति निस्किए पछि मात्र अर्कोले अवसर पाउँछ। “गजलकै कुरा गरौँ न। सही गजल ज्ञान दिने विश्वकै यौटा मात्र पाठशाला नेपाली साहित्यकार विश्व सञ्जाल पाठशाला हो भनेर ठोकुवा गर्न सक्छु। यसका अलावा परिश्रमी पाठशाला र उज्यालो पाठशालाले पनि गजल विधा सही सिकाइरहेको छ तर सम्पूर्ण विधा भएको पाठशाला भने नेपाली साहित्यकार विश्व सञ्जाल पाठशाला पहिलो हो भन्न खोजेको हुँ।” स्पन्दन विनोद भन्नुहुन्छ। साहित्यकार कमला महतले पाठशालाका हरेक अभ्यास निरन्तर समायोजन गरेर सञ्जालको फेसबुक समूहको एल्वममा राख्ने गरेकाले पनि समूहको फेसबुक समूह यौटा विद्युतीय पुस्तकालयका रुपमा विकसित भएको छ। यस कार्यमा स्वयम् स्पन्दन विनोदले पनि सहयोग गरिरहेका छन्। केही अन्य सर्जक र प्रशिक्षक स्वयम् ले पनि अभ्यास समायोजनमा सहयोग गर्ने गर्नुभएको स्पन्दन विनोदको भनाई छ। साहित्यकार कमला महतले नेपालमा रहेर नेपाली साहित्यकार विश्व सञ्जालका हरेक कार्यहरूमा सहजकर्ताको भूमिका निभाईरहनु भएको छ। “नेपालबाट गर्नुपर्ने कार्य जस्तै- स्रष्टा सम्पर्क, सम्मान पत्र छपाई तथा वितरण, पुस्तकका कार्यहरू अर्थिक संकलन तथा व्यवस्थापन आदिमा कमला महतजीले निरन्तर सहयोग गरिरहनु भएको छ।” स्पन्दन विनोदको भनाई छ। केही समयदेखि साहित्यकार निरु गौतम र तारा प्रसाद चापागाई जी ले पनि समायोजन सहयोगीको भुमिका खेलिरहनु भएको छ।
परदेशको ठाउँबाट यसरी दिनरात लगाएर विना स्वार्थ काम गरिरहेका स्पन्दन विनोद सबैका लागि प्रेरणाका श्रोत हुन्। आखिर राम्रो काम गर्न संस्था नै हुनुपर्ने रहेछ र? धेरै संघ संस्थामा आवद्ध ब्यक्तिहरू जोडिएका छन् ।त्यसले यहाँका कृयाकलापलाई केही असर गर्दैन? भन्ने हाम्रो प्रश्नमा स्पन्दन विनोदको उत्तर थियो- “हामी विश्वभरका नेपाली सर्जकलाई एकै छानामुनी देख्न चाहन्छौँ। मैले सुरु गरेँ अरुले गर्नुहुन्न भन्ने मेरो विचार छैन।मेरो विचारमा त हामीले गरिरहेका कार्य अरूले पनि गरून् र यस्ता पाठशाला , सम्मान तथा कार्यक्रम सबैतिरबाट होस् र यस्ता कार्य पुस्तान्तरण होऊन्।हामीले पनि अरुका असल कार्य गर्न सकौँ। “
प्रवासका साहित्यकारहरू माझ अत्यन्तै लोकप्रिय साहित्यकार स्पन्दन विनोद हरेक सर्जकका लागि प्रेरणाका मूल बनेका छन्। यति महान सोच लिएर हिड्ने उहाँका हरेक कार्यमा हरेक नेपाली सर्जकले साथ दिऊन् हाम्रो पनि हार्दिक शुभकामना छ।






