गृहपृष्ठ दाङमा निर्माण हुन लागेको नेपालकै दोस्रो लामो पुलको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
दाङमा निर्माण हुन लागेको नेपालकै दोस्रो लामो पुलको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै प्रतिकुलताको विचपनि देशमा विकासनिर्माणका काम भईरहेको र देश अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशलाई अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउनुभएको हो ।
देशमा सुशासन र विकास ल्याउनकै लागि विकासको लहर चलाईएको दावी गर्नुभयो । कोरोना महामारीका विचमा पनि विकास निर्माणका काम नरोकिएको भन्दै उहांले गतिलो उदाहरण राप्ती पुल पनि भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राप्तीमा तटबन्ध गरी यहां विकासका धेरै काम गर्न सकिने भन्दै अब सरकारको ध्यान त्यतातिर केन्द्रित हुने बताउनुभयो । उहांले लुम्बिनी प्रदेशको राजधानी पनि दाङमै भएकाले यस्तो पुलको निर्माणले त्यहांको विकास निर्माणले फड्को मार्ने बताउनुभयो । उहांले जस्तो सुकै परिस्थिति आएपनि आफूहरु नरोकिने भन्दै संविधानको रक्षा गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट दाङ पुग्नुभएको थियो । उक्त पुल निर्माणपछि राप्ती गाउंपालिका ७ सिसनिया र गढवा गाउंपालिका २ महदेवा जोडिएको छ ।
८ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो पक्की पुल रहेको दावी गरिएको छ । यसअघि नेपालकै सबैभन्दा लामो गेरुवाको पुल निर्माण गरेको एएनके लुम्बिनी वाइपी जेभीले नै यो पुलको निर्माण गरेको थियो ।
करिब एक अर्बको लागतमा निर्माण सम्पन्न गर्नुपर्ने समय अगावै पुल निर्माण गरिएपछि निर्माण कम्पनिले प्रशंसा बटुलेको थियो । पुल उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले पुल निर्माण कम्पनी र केही स्थानीयलाई सम्मानसमेत गर्नुभएको थियो ।
उक्त पुल गत असारमा निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको थियो । प्रधानमन्त्री ओली दाङ जाने भएपछि त्यहांको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी, सीमा सुरक्षा बल भालुवाङबाट सशस्त्र प्रहरी र घोराहीस्थित रिपुमर्दन गणबाट नेपाली सेनाको टोली खटिएको थियो ।
@sabalpost.com






