गृहपृष्ठ एकीकरण गर्ने पृथ्वीनारायण शाह र नेपाल जोगाउनेहरूको योगदानलाई हामीले बिर्सिनु हुँदैन : प्रधानमन्त्री ओली
एकीकरण गर्ने पृथ्वीनारायण शाह र नेपाल जोगाउनेहरूको योगदानलाई हामीले बिर्सिनु हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि व्यवस्थाप्रति नै लक्षित गर्दै विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । संसद् विघटन भएको तेस्रो दिन नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जिवसिंह पुरीले भारतीय सञ्चारमाध्यम “द ट्रिब्युन”मा एक लेख लेख्दै प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउन सक्ने दाबी गरेका थिए ।
उनले भनेका थिए, “राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएको हुन सक्ने देखिन्छ । पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन ।”
राजतन्त्रको पक्षमा देशव्यापी प्रदर्शनहरु भइरहेकै समयमै संसद् विघटन हुनु र संसद् विघटनपछि नेपालको राजनीतिमा प्रभाव पार्दै आएको भनिएको भारतका कूटनीतिज्ञले राजा फर्किन सक्ने संकेत गर्नु संयोगमात्रै नभएको भन्दै नेपालमा विभिन्न टिकाटिप्पणीहरु भए । ओलीले राजा फर्काउने पर्यत्न गरिरहेको भन्दै टिकाटिप्पणी भइरहेकै समयमा उनले माघ १२ गते हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर पुगेर पूजा गरे ।
उनले पशुपतिमा सुनको जलरी राख्नका लागि ३० करोडसमेत उपलब्ध गराउने घोषणा गरे । प्रधानमन्त्री पदको शपथ ग्रहणमा ‘ईश्वर’ नामसमेत उच्चारण नगर्ने, माक्र्स नै भगवान हुन् भन्दै भाषण गर्ने प्रधानमन्त्री ओली पशुपतिनाथ पुगेर पूजा गर्नुले धर्मनिरपेक्ष मुलुकका जनतालाई थप आश्चार्यमा पार्यो । उनले फेरि अर्को कदम चाले, जसले थप सशंकित बनायो ।
माघ २३ गते सत्ताको विरोध गरिरहेकाहरुलाई देखाउने उद्देश्यले काठमाडौंमा बृहत् जनसभा आयोजना गरियो । उक्त बृहत् सभाका लागि प्रधानमन्त्री ओलीले पूर्वराजाहरुले सत्ता सञ्चालन गर्ने ‘नारायणहिटी दरबार’ (नारायणहिटी संग्राहलय) अगाडिको स्थान रोजे । प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुअघि राजतन्त्र र हिन्दू राज्यका विषयमा कुनै ठोस घोषणा गर्न सक्ने शंका तरंगित भइरहेको थियो ।
तर, प्रधानमन्त्री ओलीले नारायणहिटीको आँगनमा उभिएर राजतन्त्र फर्किन नसक्ने दाबी गरे । उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको पक्षमा उभिएको भन्दै जनतालाई आश्वस्त पार्ने प्रयास गरे ।
फेरि आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल एकीकरण गर्ने पृथ्वीनारयण शाहको खुलेर प्रशंसा गरेका छन् । पूर्वराजाहरु निरंकुश भएको भन्दै राजतन्त्रलाई फालेर गणतन्त्र स्थापना गर्दै आफूलाई ‘लोकतन्त्रको ठेकेदार’ मान्नेहरुले राजाको नामसमेत लिन चाहँदैनन् । तर, प्रधानमन्त्री ओलीले पटक–पटक बोली र व्यवहारमा राजाप्रतिको आफ्नो झुकावलाई व्यक्त गर्दै आइरहेका छन् ।
नेपाली सेनाले आयोजना गरेको ‘एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् सेमिनार’ को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले पुर्याएको योगदानको प्रशंसा गरे ।
उनले भने, “नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह र नेपाल जोगाउनेहरूको योगदानलाई हामीले बिर्सिनु हुँदैन । हामीहरुले त लडाईंका लागि कुनै किल्ला बनाउन परेको छैन । उहाँहरु आफ्नो ज्यान जोखिममा राखेर देशलाई एकीकृत बनाउनतिर लाग्नुभयो । आजको जस्तो कुनै हतियार पनि थिएन । हाम्रा पुर्खाहरूलाई जति मान गरे पनि पुग्दैन । हामीले गरेको काम केही होइन । उहाँहरुको तुलनामा केही होइन ।”
उनले आज एकीकृत राज्यलाई एकताबाट जोगाउनु परेको र अनेकताको विष घोल्ने प्रयास भइरहेको पनि बताए । पहिचानको राजनीतिका नाममा जनतालाई भड्काउने काम भइरहेको उल्लेख गर्दै ओलीले भने, “देशलाई पूर्वजहरुले लडेर एकीकृत गरेको हो । यो देश कसैले दिएको होइन । पूर्वजहरुको योगदान बुझेर मात्र तर्क गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले कालु पाँडे, विषे नगर्चीलगायतको योगदान पनि बिर्सन नहुने बताए । उनले थपे, “७४ वर्षको उमेरमा अमरसिंह थापाले लडाइँको मैदानमा लडेको थिए तर उनी लड्न हैन आदेश दिने ठाउँमा थिए, तर लडे । भीमसेन थापाको योगदान असाधारण थियो, नेपालमा हुन्छ एउटा घटना, अफवाह अर्कै चल्छ, भीमसेन थापाको कायरतापूर्ण हत्या भयो ।”
अहिले देशमा देशभक्त नागरिकहरुको कमी भएको प्रधानमन्त्री ओलीको तर्क थियो । पूर्खाले देश एक बनाउन लडेका गढी र किल्लाबारे बुझ्नुपर्ने भन्दै उनले देशको नक्सा गौरवपूर्ण इतिहास बोकेको नक्सा भएको जिकिर गरे । @लेखाजोखा न्यूज
यो भिडियो पनि हेर्नुहोस :





