गृहपृष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर छानविन सुरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर छानविन सुरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर (प्राविधिक परीक्षण अध्ययन) छानविन सुरु गरेको छ । अख्तियारले इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली सडकमा खटाएर सोमबारबाट छानविन थालेको हो ।
विश्व पर्यटन केन्द्र लुम्बिनीलाई सहज सडकमार्गले जोड्ने लक्षितसहित बनाइएको यो सडक ६ महिनामै ठाउँ–ठाउँमा भत्किएको छ, खाल्डैखाल्डा बनेको छ भने कतै दवेको छ । सडकको दूरावस्थाबारे पब्लिक कुरा डटकममा समाचार प्रकाशित भएको थियो । यसपछि अख्तियार टोलीले गुणस्तर जाँचका लागि सडकमा प्रयोग गरिएको सामग्री (मेट्रियल)को नमूना संकलन थालेको छ ।

नमूना संकलनमा खटिएका इन्जिनियर आचार्यले ४१ किलोमिटर सडक क्षेत्रको ठाउँ–ठाउँबाट नमूना लिएर काठमाडौंमा गुणस्तर जाँच गरिने बताए । ‘सडकको गुणस्तरबारे संचारमाध्यममा प्रश्न उठेपछि छानविन सुरु भएको हो’, उनले भने, ‘कम्तिमा ३०–४० ठाउँबाट नमूना लिन्छौं ।’
अख्तियारले ठेकेदार, परामर्शदाता, आयोजना कार्यालयलाई समेत स्थलगतरुपमै सँगै लिएर नमूना लिइरहेको हो । कम्तिमा पँच वर्ष टिकाउ हुने भनिएको यो सडकखण्ड भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ३.८ किमि ६ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्मको १४.५ किमि चार लेन र पर्साचोकदेखि तौलिहवासम्मको करिब २३ किमि दुई लेनको छ ।
सडक निर्माण भारतको ठेकेदार कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव, हरियाणासँग २०७४ असार ८ मा ठेक्का सम्झौता भएको थियो । २०७६ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको यस आयोजनाको सुरुको ठेक्का रकम १ अर्ब ९३ करोड रुपैयाँ हो । पछि थप गरेर लागत २ अर्ब ८ करोडभन्दा बढी पुर्याइएको थियो ।

कुल लगानीमध्ये एसियाली विकास बैंकको ८४.५ प्रतिशत र बाँकी नेपाल सरकारको हो । निकै ढिला गरी सन् २०२० को डिसेम्बरमा निर्माण सकिएको सडक अहिले जताततै भत्किएको छ । भैरहवाको बुद्धचोकबाट गौतम बुद्ध विमानस्थलसम्मको ६ लेन क्षेत्र आस्फाल्ट (निश्चित तापक्रममा तताइएको गिट्टी, अलकत्रा बिछ्याएर तत्कालै पेल्ने) प्रविधिबाट र त्यहाँबाट तौलिहवासम्मको सडक डीभीएसटी सर्फेस ड्रेसिङ (अलकत्रा बिछ्याएर माथिबाट गिट्टी छरेर पेल्ने) प्रविधिबाट कालोपत्र गरिएको हो । तर, यहाँ प्रयोग गरिएका यी दुवै प्रविधि सफल भएनन् ।
छोटो समयमै सडक भत्किएपछि चौतर्फी आलोचना सुरु भएको छ । निर्माणधीन अवस्थामा आयोजना र परामर्शदाताले निरीक्षण तथा अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको हो । जसले गर्दा सडक धुजाधुजा बनेको छ । ‘सडक निर्माणका क्रममा आयोजना र सरकारी पक्षबाट अनुगमन नै भएन । यसैको परिणाम सडकको अवस्था यस्तो भएको हो,’ सिद्धार्थनगर–४ का स्थानीय डिलबहादुर क्षत्रीले भने, ‘मिलेमतोमा सडक कमसल सामाग्री प्रयोग गरी बनाइएकाले कारबाहीको दायरामा ल्याउनुपर्छ ।’





