गृहपृष्ठ रिब्दीकोटका पर्यटकीय स्थल चिनाउने कलमजीवी पुरस्कृत
रिब्दीकोटका पर्यटकीय स्थल चिनाउने कलमजीवी पुरस्कृत
जिल्लाको रब्दीकोट गाउँपालिकाले पालिका भित्रका पर्यटकीय तथा धार्मिक गन्तव्य स्थल चिनाउने उद्देश्यले आयोजना गरिएको लेख रचना प्रतियोगिताका सफल कलमजीवीलाई पुरस्कृत गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका चिनाउने पर्यटकीय गन्तव्यहरु शीर्षक सम्बन्धी लेख रचना प्रतियोगितामा सहभागीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
गाउँपालिकाले ८ वटै वडाहरुका पर्यटकीय गन्तवयहरुको खोजी गरेको हो । उक्त लेख रचना प्रतियोगितामा रामबहादुर विक अर्थात ( आरवी निश्चल प्रथम भएका छन् । यसैगरी पालिकाका प्रवक्ता विष्णुप्रसाद खनाल द्धितिय, राम ज्ञवाली तृतिय र रुद्ध्र आचार्य सान्तवना स्थान प्राप्त गर्न सफल भएका छन् ।
पुरस्कृत व्यक्तिहरुलाई पूर्व जिविस सभापती झपेन्द्रबहादुर जिसी, गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, प्रतियोगिता मूल्याङकन समितीका बुद्धिप्रसाद शर्मा लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा पूर्व जिविस सभापति जिसीले पर्यटन भनेको पैसा भएकोले आफै कसिएर काम गर्नुपर्ने बताए । रिव्दीकोट सेनवशींय राजाहरुको राजधानी, भैरव मन्दिर, पूर्णाकोट दरवार, जलेश्वर, रिव्दीकोट जस्ता एतिहासिक महत्वपूर्णका पर्यटकीय गन्तव्यहरु रहेकोमा प्रचार प्रसार ध्यान दिनुपर्ने जिसीले बताए ।
कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले प्रतियोगिताले रिव्दीकोटलाई पर्यटकीय माध्यम चिनाउने धेरै विषयबस्तु भेटिएकोले पालिकाले सोही अनुसार नीति तथा कार्यक्रम बनाएर कार्यान्वय गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पालिकाका अध्यक्ष नारायण बहादुर जिसीले भौतिक पूर्वाधार बाटो घाटो पुल भवन संगै जनताको आय आर्जन संग जोडिएका पर्यटन व्यवसायको मार्फत गाउँपालिकालाई चिनाउनु पर्छ भनी यो अभियान संचालन गरेको बताए । यसका साथै रिब्दीकोट गाउँपालिका भित्र के कस्ता धार्मिक तथा एतिहासिक विषय बस्तु छन् । रिब्दीकोटको सम्भावना र अवसरका बारेमा उपलव्ध लेख गाउँपालिको दस्तावेज बन्ने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जि.सीले बताए । उनले पालिकाको पहिचानमा प्रतियोगिले लेखेको लेख रचनाले ठूलो सहयोग पुग्ने समेत बताए ।
सम्भावना र एतिहासिकताका कुरा कलम जीवि मार्फत जनतासामु लैजाने र रिब्दीकोटमा कुन स्तरका धार्मिक तथा एतिहासिक विषयबस्तु रहेछ भन्ने बौद्धिक व्यक्तिबाट प्राप्त लेख रचनाले स्पष्ट पारेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताइन् ।
आफ्नो क्षेत्रमा रहेका धार्मिक, एतिहासिक तथा पर्यटकीय क्षेत्रले गाउँपालिकालाई कस्तो बनाएको छ र कस्तो बनाउनुपर्छ भन्ने योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । उनले लेख रचना एक दस्तावेजका रुपमा संग्रह गरिने र आगामी दिनमा गाउँपालिकाभित्रको क्षेत्रगत विकासमा योजना तयार गर्न सहज हुने बताए ।
कोभिड १९ (कोरोना महामारी) का कारण अनलाइन सहभागिता मार्फत आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले दश हजार, दोस्रो स्थान हासिल गर्नेले आठ हजार, तेस्रो स्थान हासिल गर्नेले सात हजार र सान्त्वना स्थान हासिल गर्नेले दुई हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् । प्रतियोगीतामा ११ जनाको सहभागिता रहेको गाँउपालिकाले जनाएको छ ।





