गृहपृष्ठ अहिले लकडाउन नहुने, हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह!
अहिले लकडाउन नहुने, हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह!
काठमाडौं ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ ।
नेपालमा हालसम्म ओमिक्रोनको कुनै पनि ‘केस’ नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यद्यपि, ओमिक्रोन भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग गराइरहेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रिन नदिन सरकारले संक्रमण बढी फैलिएका नौ देशबाट नेपाल आउन रोक लगाइसकेको छ । गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमतिमा रोक लगाइएको छ ।
यस्तै, संक्रमणको जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने निर्णय सरकारले गरेको छ । सोही निर्णयानुसार ती देशहरूबाट हवाई तथा स्थलमार्ग हुँदै नेपाल आउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायाणप्रसाद भट्टराईले बताए ।
“संक्रमण रेसियो हेरेर अहिलेका लागि यी नौ मुलुकबाट प्रवेशमा रोक लगाइएको हो । रोक लगाइएकामध्ये हङकङबाहेक अन्य मुलुकसँग हाम्रो प्रत्यक्ष उडान पनि छैन । तर, हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत स्थलमार्गमा रहेका नाकामा पनि कडाइ गर्न स्थानीय प्रशासनहरूसँग समन्वय गरिरहेका छौँ,” भट्टराईले भने ।
यता, गम्भीर संक्रमणको जोखिम कम गर्न सरकारले दैनिक दुई लाखजनालाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । बिहीबारकै मन्त्रिपरिषद्को बैठकले दैनिक न्यूनतम दुई लाखजनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
अहिले दैनिक डेढदेखि तीन लाखजनासम्मलाई कोभिड–१९ विरुद्धको खोप दिइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा मंसिर १६ गतेसम्म ८५ लाख ५९ हजार २४२ जनाले कोभिड–१९ विरुद्धको दुवै डोज र एक करोड एक लाख २७ हजार ४०७ जनाले पहिलो डोज खोप लगाएका छन् ।
निषेधाज्ञा नगरिने
नेपालमा अहिले कोभिड–१९ पुष्टि भएका व्यक्तिहरूमा नयाँ भेरियन्ट भए/नभएको परीक्षण गर्न सरकारले देशभरका सीमानाकामा रहेका हेल्थ डेस्कबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार कोभिड पोजिटिभ आएका नमुनाहरूमा नयाँ भेरियन्ट रहे/नरहेको परीक्षण गर्न अहिले जिन सिक्वेन्सिङ परीक्षणको संख्या समेत बढाइएको छ ।






