२०८१ असोज २९ गते मंगलवार | October 15, 2024

गृहपृष्ठ एमाले लुम्बिनीको पहिलो बैठक : सबै जिल्ला अधिवेशन पुसभित्र, विभागीय जिम्मेवारी र कार्यविभाजनको टुंगो लाग्यो

एमाले लुम्बिनीको पहिलो बैठक : सबै जिल्ला अधिवेशन पुसभित्र, विभागीय जिम्मेवारी र कार्यविभाजनको टुंगो लाग्यो

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुको अधिवेशन पुस महिनाभित्र गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको पहिलो पूर्ण बैठकले १२ जिल्लाहरुमध्ये रुकुमपूर्व मंसिरमा र अन्य ११ जिल्लामा पुसभित्र अधिवेशन गर्ने मिति तय गरेको हो ।

भदौ १६ गते प्रदेश कमिटीको अधिवेशनबाट आएको नयाँ नेतृत्वको पहिलो पूर्ण बैठक बिहीबार बसेको हो । कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताइन् । उनले अधिवेशनमा प्रतिस्पर्धालाई स्वभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन गरेकी थिइन् । ‘निर्वाचनका बेला प्रतिष्पर्धा स्वभाविक हो भन्ने वातावरण गराउने हो, विधानको प्रयोग गराउनुस् । व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् । अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भंग गरिनेछ । हरेकसंग विधान, र नियमावलीका दस्तावेज हुनुपर्यो, कमिटीको महत्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो’ अर्यालले भनिन् ।

सचिव अर्यालले जनतामा एमालेले भनेजस्तो, सोचेजस्तो काम गरेन भन्ने गुनासो बढेको विषयलाई ध्यान दिँदै यसलाई व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने बताउँदै भनिन्–‘अगुवा हुनुको कारण विचार, ब्यवहार सवैमा नेतृत्व गर्नुपर्यो । पार्टीमा फुर्सद भएको हैन, भिजन र विचार भएको ब्यक्ति हुन आबश्यक हुन्छ । हाम्रो ब्यवहारले पार्टी खुम्चने हैन, फस्टाउने हुनुपर्यो ।’ पार्टीका जिम्मेवारीमा बसेकाहरुको आचरण सुधार गर्नुपर्ने बताउँदै अर्यालले निर्देशन दिँदै भनिन्–‘कम्युनिष्ट पार्टीका कार्यकर्ता नेताको आचरण ठिक हुनुपर्दैन ? कमिटी चलाएर मात्र नेता भईदैन । साँझ फोन गरेर हुन्छ ? वैचारिक हिसाबले हामी स्पष्ट हुनुपर्छ । ज्ञान, विचार भएन भने के हुन्छ ? विचारका कारण हामीलाई काम गर्ने जाँगर आउँछ । राजनीति ब्यापार हैन, यो सेवा हो । माक्र्सवाद, जनताको वहुदलीय जनवाद , राजनीतिक कार्यदिशा के हो जान्नुपर्यो ।’ नेतृ अर्यालले निर्णय कार्यान्वयनमा एकरूपता, संगठनात्मक चुस्तता बनाउँदै समुदायका एजेण्डा र नागरिकका समस्यामा सहभागिता हुनेगरी पार्टीका योजना बनाउनुपर्ने बताउँदै पार्टी कमिटी चल्ने, अनुशासित वनाउने, क्षमता विस्तार गर्ने अबको दायित्व र जिम्मेवारी लिनुपर्ने जनाइन् ।

बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँड,जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग संचालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । लुम्बिनीमा सबै भन्दा पहिले अधिवेशन भएकाले जिल्लाहरुको पनि पहिले अधिवेशन सक्नेगरी योजना बनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार