गृहपृष्ठ सद्बिचारको परिणाम
सद्बिचारको परिणाम
जीवनमा सफल हुन मुख्य तीन कुराको आवस्यक पर्दछ । सद्भाव , सद्वचन र सत्कर्म । वचन र कर्म राम्रो हुनको लागि प्रथमतः राम्रो भावना , सद्विचार अर्थात् सद्भाव पैदा गराउन आवस्यक छ । त्यसकालागी विचार शुद्ध हुन आवस्यक देखिन्छ । मानिस अगाडी बढ्ने एउटा महत्वपूर्ण साधन भनेको विचार हो । बिचार मानसिक उर्जाको एउटा रुप हो । एक शक्तिशाली बिचारमा अधिक उर्जा हुन्छ यहि उर्जायूक्त बिचार नै सही कर्ममा रुपान्तरण हुन्छ । कमजोर विचारमा कम उर्जा हुन्छ । यदि बिचार सकारात्मक छ तर कमजोर छ भने त्यसलाई सकारात्मक कर्ममा बदल्ने संभावना न्यून रहन्छ । सकारात्मक बिचारले दृढ निश्चयता प्रबर्धनमा सहयोग गरिरहेको हुन्छ । हाम्रो विचारमा इश्र्या, घृणा, काम, क्रोध, लोभ, मोह अहंकार, द्वेष जस्ता अस्वस्थ भावनाहरु विकसित हुन्छन् भने त्यस्तो अवस्थामा सदाचार, सदविवेक र सकारात्मक सोचको विकास हुन सक्दैन । तसर्थ वाह्य परिवेश माथिको जीतले मात्र पूर्णता दिन सक्दैन आफूभित्र विद्यमान गलत, कमजोर र नकारात्मक विचार माथिको विजय नै पहिलो अपरिहार्य सर्त हो । यसका लागि सकारात्मक भावना र विश्वासको महत्वपूर्ण भूमिका हुन्छ ।
हाम्रो चिन्तन विचारको उद्गमस्थल हो । मुल स्रोत हो । जस्तो प्रकारको सोच गराउछौ , जस्तो कुराको चिन्तन गर्छौ , त्यसै विचारहरू मनमा मनमा आउन थाल्दछन् । तसर्थ राम्रा विचारहरूको लागि राम्रा विषयको चिन्तन गर्ने राम्रा भावनालाई मात्र मनमा राख्नु पर्दछ । केवल सद्विचार मात्र मनमा पैदा गराउन राम्रो चिन्तन मात्र जगाउने हो भने नकारात्मक सोच क्रमशः कम हुँदै जान्छ ।
वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो
आन्तरिक शक्तिको विकास आफैबाट गर्न सक्नु पर्दछ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र
समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउछ तर समाधान आफैबाट खोजिनु पर्दछ । यात्रा जति
कठीन नै किन नहोस असंभव पक्कै पनि हुदैन परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरुबीच पनि अवसर देख्न सक्नु व्यावसायिकजीवनका अपरिहार्य विषयहरु हुन् । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ । आज मानिस समस्य माथि चिन्ता गर्छन् । चिन्ताले कहिल्यै समाधान हुदैन । चिन्ताले त अस्थिरता मात्र निम्त्याउछ,स्रोत र शक्तिको ह्रास गराउछ। तसर्थ चिन्ता नगर्नुस , शितल हृदयले प्रत्येक समस्यामाथि सोच्नुहोस ,चिन्तन गर्नुस् ,विचार गर्नुस् । समस्याको हल गर्ने उपाय निकाल्नुस् । कुनै पनि यस्तो विषम परिस्थिति छैन , जसको समाधान गर्न नसकियोस् । अतस् सद्विचारले मात्र सफलताको शिखरमा पुर्याउछ । इति।
( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुनुहुन्छ )