गृहपृष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडले फाल्गुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने
प्राइम कमर्सियल बैंक लिमिटेडले फाल्गुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने
प्राइम कमर्सियल बैंक लिमिटेडले यही फागुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो ।
कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। सार्वजनिक निष्कासन गरिने इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ७० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १३ लाख ३० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यो ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतम ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु वा तिनका तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ र कमलपोखरीस्थित प्राइम कमर्सियल बैंक लिमिटेडको रजिस्टर्ड केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ । यो ऋणपत्रको निष्कासन छिटोमा फागुन २३ गते र ढिलामा चैत ४ गते बैंकिङ समयपछि बन्द हुनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ । प्राइम बैंकको यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत पुस २६ गते निष्कासन अनुमति दिएको थियो।






