२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित

विराटनगर, १८ पुस। नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि अध्ययनरत विद्यार्थी थप आन्दोलित भएका छन् । चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनले विद्यार्थीको आन्दोलमा ऐक्यबद्धता जनाएपछि विद्यार्थीहरू थप आन्दोलित बनेका हुन् । आन्दोलनरत विद्यार्थीले आइतबार नोबेल मेडिकल कलेजको प्रगांणमा प्रदर्शन समेत गरेका छन् । उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी नतिर्ने भन्दै उनीहरू आन्दोलित बनेका हुन् । आयोगले तोकेको भन्दा बढी शुल्क लिन विद्यार्थीलाई दबाब दिन खोजेपछि एमबीबीएस पढ्ने बिद्यार्थीको संगठन चिकित्सा शिक्षा संघर्ष समितिका प्रतिनिधिसमेत विराटनगर आएका छन् । पोखरादेखि विराटनगर आएर समितिका विद्यार्थी नेताहरूले आन्दोलनरत विद्यार्थीलाई साथ दिएका छन् । विद्यार्थीलाई राज्यको नियम लागु हुने मेडिकल कलेजका संचालकलाई कार्वाही नहुने भएपछि आदोलनलाई देशव्यापी बनाउने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक पर्शु भट्टराईले बताए ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा करिब पाँच लाख रुपैयाँ बढी मागेपछि अभिभावकसमेत आन्दोलनमा उत्रिएका छन् । कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिँदै आएको छ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीको पठनपाठन रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा ११ पुसदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाए पढाउन नसक्ने विद्यार्थीलाई जानकारी गराएको थियो ।

कलेजले ११ पुसबाट कक्षा सुरू गरे पनि १२ पुसदेखि भने अतिरिक्त शुल्क नबुझाउने बिद्यार्थीको पठनपाठन रोकेको छ । कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालेपछि शिक्षा आयोगले तोकेको शुल्क बुझाउँदा पनि उनीहरू पढ्नबाट बञ्चित बनेका छन् । नेकपा एमाले तथा नेकपा एकिकृत समाजवादीका विद्यार्थी संगठनहरूले आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै आन्दोलन गरिरहेका छन् । आयोगले तोकेको भन्दाबढी शुल्क लिए थप आन्दोलन गर्ने नेकपा (एस) निकट अनेरास्वियूका नेता वासिम आलमले बताए । विद्यार्थीहरूको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको समेत उनले बताए ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनिल शर्माले अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरू गर्ने अडानमा राख्दै आएका छन् । पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत संचालकले बेवास्ता गरेकोले थप आन्दोलन गर्ने एमाले निकट अनेरास्वियूले चेतावनी दिएको छ । आयोगले तोकेकोभन्दा बढी शुल्क नलिन भन्दै चेतावनीसहितको पत्र प्रशासनलाई बुझाएको अनेरास्वियूका नेता पवन पहाडीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार