गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयका महँगा यी कार्यक्रममा विद्यार्थीले पाउँदैनन् छात्रवृत्ति
त्रिभुवन विश्वविद्यालयका महँगा यी कार्यक्रममा विद्यार्थीले पाउँदैनन् छात्रवृत्ति
काठमाडौं। दश प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय त्रिभुवन विश्वविद्यालयकै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले कार्यान्वयन गरेका छैनन् । व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका ‘अप्लाइड कोर्स’मा विद्यार्थीले छात्रवृत्ति पाएका छैनन् । महँगो शुल्क रहेका त्रिविका ‘अप्लाइड कोर्स’मा प्राइभेट कार्यक्रम चलाएका आंगिक क्याम्पसले समेत छात्रवृत्ति दिएका छैनन् । त्रिवि भने मौन छ ।
२०७६ मा विद्यार्थी संगठनहरूको आन्दोलनपछि त्रिविले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने सहमति गरेको थियो । लगत्तै त्रिवि कार्यकारी परिषद्ले निर्णय गरी शिक्षण शुल्कको पाँच प्रतिशतबाहेक अरू शिक्षण शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । त्रिवि सेवा शुल्क, रजिस्ट्रेसन र परीक्षा शुल्क मात्रै विद्यार्थीले तिर्ने व्यवस्था गरिएको थियो । तर, आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पसले केही रकम मात्र छुट गरी पूरै रकम असुलिरहेका छन् ।
छात्रवृत्ति भने पनि पाँच लाखसम्म शुल्क उठाउने गरिएकोे विद्यार्थीको गुनासो छ । सम्बन्धन प्राप्त क्याम्पसले आफूहरूकोमा छात्रवृत्तिको व्यवस्था नै नभएको भन्दै विद्यार्थीलाई फर्काउने गरेका छन् । ‘म आफैँ सम्बन्धन प्राप्त क्याम्पसमा गएको थिएँ, कसैले छात्रवृत्तिमा पढ्न दुई लाख, कसैले चार लाख मागे, कसैले छात्रवृत्तिको कोटा नै छैन भनेर फर्काए,’ नेविसंघका विद्यार्थी नेता दीपक ओझाले भने । सम्बन्धन प्राप्त कलेजले यस्ता कोर्समा तीन लाखदेखि नौ लाख शुल्क लिने गरेका छन् ।
व्यस्थापन संकायअन्तर्गतको बिबिए, बिआइएम, बिबिएम, बिबिए फाइनान्स, बिटिटिएम, बिएचएम, एमबिएम, एमबिएलगायत कोर्स अध्ययन गर्न महँगो छ । त्रिविले छात्रवृत्तिकै लागि ३० जनाको एउटा सेक्सनमा तीन र ४० जनाको सेक्सनमा चार विद्यार्थी थप पढाउन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था कार्यान्वयन गरिए यसबाट देशभर करिब १२ विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने अनुमान छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





