गृहपृष्ठ निर्माता तथा सिनेमाघर संचालक प्रदीप कुमार उदयको आक्रोश : ‘सरकारले अस्तित्व स्वीकार गरेन’ अब फिल्म हल खोल्नुपर्छ
निर्माता तथा सिनेमाघर संचालक प्रदीप कुमार उदयको आक्रोश : ‘सरकारले अस्तित्व स्वीकार गरेन’ अब फिल्म हल खोल्नुपर्छ
कोरोनाका कारण बन्द रहेका प्रायः सबै क्षेत्र खुलिसकेका छन् । तर, सरकारले लकडाउन गर्नुभन्दा अगावैदेखि बन्द भएको फिल्म क्षेत्र अझै ठप्प छ । दशैंदेखि फिल्म छायांकन सुरु भए पनि आठ महिनादेखि बन्द रहेका सिनेमा हलहरु खुल्न सकेका छैनन् । फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुले सिनेमा हल, फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन आग्रह गर्दा समेत सरकार मौन छ ।फिल्म क्षेत्र सञ्चालनका लागि फिल्मकर्मीहरुले नै पर्याप्त दबाब दिएका छैनन् । फिल्मकर्मी भलाद्मी भएकै कारण सरकारले फिल्म क्षेत्र खोल्न चासो नदेखाएको हल सञ्चालक तथा फिल्म निर्माता प्रदीप कुमार उदयले बताएका छन् । वर्तमान सरकारले नेपाली फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको आरोप उनको छ । सरकारले दबाब र आन्दोलनको भाषा मात्र बुझ्ने उनी बताउँछन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिए, सरकारले तत्काल खोल्ने निर्णय गर्यो । तर हाम्रो क्षेत्र भलादमी । एउटा विज्ञप्ती मात्र पनि निकालेर अल्टिमेटम दिएको भए सायद यो सरकारले सुन्थ्यो होला तर हामी भलादमी ।’ सञ्चार मन्त्रालयले फिल्म क्षेत्र खोल्न सिफारिस गरे पनि सरकार मौन रहेको उनले उल्लेख गरेका छन् । उनले थपेका छन्, ‘सरकार भन्दिनु पर्यो चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ चलचित्रसँग सम्बन्धित सबै इजाजत पत्र खारेज गर्दिउ र भन्दिउ चलचित्र क्षेत्रसँग सम्बन्धित कोही पनि हाम्रो नागरिक होइन र यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन । हामी चुपचाप अर्को बाटो लाग्छौं ।’ उनले आफ्नो अस्तित्वका लागि लड्न फिल्मकर्मीलाई आग्रह गरेका छन् ।चलचित्र विकास बोर्ड गम्भीरतापूर्वक फिल्म क्षेत्र खोल्न लागे पनि सरकारले महत्त्व नदिन सक्ने भन्दै उनले यसका लागि फिल्म क्षेत्रसँग सम्बन्धित संघ-संस्था अग्रसर हुनुपर्ने बताएका छन् । दबाब र आन्दोलन बिना सरकारले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगर्ने उनको भनाई छ । फिल्म क्षेत्र खोल्न पहल नगर्ने हो भने फिल्म क्षेत्रसँग सम्बन्धित संघ-संस्था बन्द गर्न उनको आग्रह छ ।






