गृहपृष्ठ ‘रेड जोन’मा यी ५८ जिल्ला, ४४ जिल्लामा पुगे पाँच सयभन्दा बढी संक्रमित
‘रेड जोन’मा यी ५८ जिल्ला, ४४ जिल्लामा पुगे पाँच सयभन्दा बढी संक्रमित
नेपालका ४४ जिल्लामा पाँच सयभन्दा बढी र १४ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, गण्डकी प्रदेशको कास्की, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र गोरखा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर, अछाम, डडेलधुरा, डोटी र बैतडीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन् । त्यसैगरी, देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, प्रदेश १ को ताप्लेजुङ, धनकुटा, संखुवासभा, ओखलढुंगा र उदयपुर, प्रदेश २ को सलार्ही, बागमती प्रदेशको दोलखा र रसुवा, गण्डकी प्रदेशको म्याग्दी, लमजुङ, पर्वत र लुम्बिनी प्रदेशको रोल्पामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिममा दुई भन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा दुई सयभन्दा बढी संक्रमित नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, १७४८ जना आइसीयू र ४९२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।





