गृहपृष्ठ साउन २५ देखि ‘खोप सप्ताह’ मनाइने, कहाँबाट कति आउँदैछ खोप ?
साउन २५ देखि ‘खोप सप्ताह’ मनाइने, कहाँबाट कति आउँदैछ खोप ?
सरकारले यही साउन २५ गतेदेखि ३२ गतेसम्म ‘खोप सप्ताह मनाउने भएको छ । विभिन्न मुलुकबाट खोप आउने सुनिश्चित भएसँगै सरकारले खोप सप्ताह मनाउन थालेको हो ।
संघीय संसद अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विभिन्न देशबाट लाखैं खोप आउन लागेको र यही साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाउन थालिएको जानकारी दिए ।
उनका अनुसार आउँदो शनिबार र आइतबार पहिलो चरणमा जापानबाट ८ लाख डोज एस्ट्राजेनेका र भुटानबाट ३ लाख डोज कोभिशिल्ड खोप आउन लागेको छ । दोस्रो चरणमा जापानबाट थप ८ लाख खोप आउने उनले बताए ।
आउँदो असोजसम्म १ करोड ५ लाख डोज खोप आउने जानकारी दिएका उनले बालबालिकाका लागि ६० लाख डोज अमेरिकाको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताए ।
यस्तै चीनबाट ७६ लाख भेरोसेल खोप र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी दिएका राज्यमन्त्री श्रेष्ठले आउँदो पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने जानकारी दिए ।





