गृहपृष्ठ मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
बुटवल । मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको बैंकिङ्ग साझेदारीमा नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मा.वि. परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा नि:शुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबालले गर्नुभएको थियो भने विशिष्ट आतिथ्यता मञ्जुश्री फाइनान्स बुटवल शाखाका शाखा प्रबन्धक सुबास अर्यालको रहेको थियो। कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष स्वागत मन्तव्य लेखनाथ भण्डारी राख्नुभएको थियो । कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए। स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरू डा.सुमन पौडेल (नाक, कान, घाटी (ENT) रोग विशेषज्ञ), डा.राजीव शाह (स्त्रीरोग विशेषज्ञ), डा. पटल गिरी (आन्तरिक रोग विशेषज्ञ) र डा. सम्राट पराजुली (अस्थिरोग विशेषज्ञ) सेवा प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको भन्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी डा.सुमन पौडेलले स्वास्थ्यप्रति सचेतना र नियमित परीक्षणको आवश्यकतामा जोड दिनुभयो। स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता र चिकित्सकहरूको सेवा भावनाले कार्यक्रमलाई सफल बनाएको आयोजक नेपाल नियमित रक्तदाता संघले जनाएको छ । सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल नियमित रक्तदाता संघका महासचिव दीपक अधिकारीले गर्नुभएको थियो।






