२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ धुर्कोट गाउँपालिकाबाट शुरु भएको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी बन्दै

धुर्कोट गाउँपालिकाबाट शुरु भएको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी बन्दै

गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् ।

मदाने गाउँपालिका–६ पुर्कोट दहका प्रेमबहादुर विश्वकर्मा विगत दुई वर्षका बर्खायाममा ढुक्कले निदाउन पाए । खरको छाना हुँदा चुहिने घरमा अहिले जस्तापाता लगाएपछि उनलाई ढुक्क भएको छ । विसं २०७५ माघमा मदाने गाउँपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि उनी बर्खायाममा पानी चुहिने समस्याबाट मुक्त भएका छन् । ‘पहिले–पहिले पानी चुहिएर रातमा निदाउनै पाइने थिएन’, उनले भने, ‘यो वर्ष ढुक्कले निदायौँ ।’ सोही ठाउँकी सुन्तली विकको घर पनि खरले छाएको थियो । पानी परे चुहिने डर, खडेरी पर्दा आगलागीको डर । त्यही डरलाई दृष्टिगत गर्दै गाउँपालिकाले जस्तापाता दिएपछि उनको डर हराएको छ ।

‘घरका बालबच्चासँग डरैडरमा बाँचेकी थिए’, उनले भनिन्, ‘घरमा टिनका छाना लगाउँछौं भन्ने सोचेकी पनि थिइनँ ।’ विक परिवारमात्र होइन, अहिले जिल्लाका धेरै परिवारका छाना जस्ताले छाएको छ । खरका छाना भएका गाउँ टिनले टल्कन थालेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि खरका छाना विस्थापन गरी टिनका छाना लगाउने कार्यले तीव्र गति पाएको छ । कतिपय स्थानीय तहमा सबै घरमा खरका छाना विस्थापन गरिएको भने कतिपयमा अन्तिम चरणमा पुगेको छ । खरका छाना विस्थापन भई जस्तापाता लगाएसँगै नागरिक पनि खुसी भएका छन् ।

धुर्कोट गाउँपालिकाले शुरु गरेको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी चलेको छ । सोही कार्यक्रमअन्तर्गत केही स्थानीय तहले आफ्नो स्थानीय तह भित्रका सबै खरका छाना विस्थापन गरिसकेका छन् । जिल्लाको क्षेत्र नं २ का स्थानीय तहले मात्रै टिनका छानामा रु २० करोड खर्चिएका र चार हजार घरलाई खरका छानामुक्त बनाएका छन् । कोरोनाको कारण खरका छानामुक्त गाउँपालिका घोषणा गर्नमात्र बाँकी रहेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

धुर्कोट गाउँपालिकामा अहिलेसम्म ५५० भन्दा बढी घरमा टिनका छाना लगाइएको छ । सो जस्तापाताका लागि दुई करोड रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा निःशुल्क जस्तापाता दिने आश्वासन दिएका थियौँ’, उनले भने, ‘अहिले त्यसैलाई सार्थकता दिँदैछौं ।’

मुसिकोट नगरपालिकामा खरका छाना विस्थापित गरी टिनका छाना पाउने कूल लाभग्राही सङ्ख्या ९९३ हुन् । जसमध्ये सबै परिवारले टिन पाएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । जस्तापाता वितरणका लागि अहिलेसम्म कूल रु चार करोड खर्च भएको सापकोटा बताउँछन् । कोभिडका कारणले खरका छानामुक्त नगरपालिका घोषणा गर्न नसकिएको उनको भनाइ छ । मालिका गाउँपालिकाका कूल लाभग्राही एक हजार ४७ परिवार हुन् । जसमध्ये ९२८ घरधुरी खरका छानामुक्त भइसकेका छन् । बाँकी ११९ परिवारलाई चालू आर्थिक वर्षमा जस्ता उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । गाउँपालिकाले टिनका छाना खरिदमा अहिलेसम्म तीन करोड ९० लाख रुपैयाँ खर्च गरेको छ ।

@sainamainakhabar

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार