२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउछौँः प्रधानमन्त्री ओली

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउछौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८-७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक१५ हजार पुर्याइने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज ( शनिवार ) शुभकामना दिदै प्रधानमन्त्री ओलीले हालसम्मको न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्दै मासिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पुर्याइने उल्लेख गर्नुभएको हो ।

दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने उहाँले बताउनुभएको छ । प्रतिघण्टा पारिश्रमिक ६९ रुपैयाँबाट ७७ हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रमा औपचारिक कि अनौपचारिक भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरिएको दावी गर्नुभएको छ ।

 

अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरिएको दावी गर्दै उहाँले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताउनुभएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता अनि दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

 

नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्नुभएको छ ।

कोरोनाविरुद्धको खोप छिट्टै सम्पूर्ण नेपालीलाई उपलब्ध गराउनेमा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गर्नेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको उल्लेख गर्नुहुँदै हालसम्ममा पहिलो डोज खोप लगाउनेको सङ्ख्या १९ लाख नाघिसकेको जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार