२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ केपी ओलीले फेरि संसद विघटन गर्ने विपक्षीको निष्कर्ष

केपी ओलीले फेरि संसद विघटन गर्ने विपक्षीको निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटनतर्फ मुलुकको राजनीतिलाई अघि बढाएको विपक्षी दलहरुले निष्कर्ष निकालेका छन् ।
बहुमतको सरकार बन्न नदिएर मुलुकलाई कोरोना महामारीकैबीचमा मध्यावधि निर्वाचनतर्फ धकेल्ने खेलमा ओली लागेको विपक्षी दलहरुको आरोप छ ।

बहुमतको सरकार बनाउने प्रयास असफल भएपछिको समिक्षा गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

उक्त बैठकले फेरि पनि संसद विघटनतर्फ ओलीले पाइला चालेको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले फेरि पनि संसद भंग गर्ने बाटोमा केपी ओली हिँडेको बताउनुभयो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ओलीले मुलुकको राजनीतिलाई रहस्यको खाडलमा थुपारेको टिप्पणी गर्नुभयो । संसदलाई भंग गर्ने प्रयत्न अझै जारी रहेको उहाँले दाबी गर्नुभयो । कोरोना महामारीका बेला ओलीले मुलुकमा राजनीतिक तमासा देखाउन थालेको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संसद भंग गर्ने मनसायसहितका गतिविधि देखिएका बताउनुभयो । प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि भने आफूहरु निरन्तर संघर्ष गर्ने बताउनुभयो ।

यद्यपि संवैधानिक ढंगले हुने निर्वाचन लड्न आफ्नो पार्टी सदैव तयार रहेको प्रचण्डले बताउनुभयो । तर अहिले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्ति मुलुकमा देखिएको उहाँको आरोप छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने बहुमतको सरकार बनाउन नसक्नेहरुले प्रतिगमनका कुरा गरेको भन्दै कटाक्ष गर्नुभएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण समारोहमा बोल्दै ओलीले आफूले सरकार बनाउन नसके पनि प्रतिगमन भयो भनेर हल्ला फैलाउने तत्वहरु सक्रिय रहेको बताउनुभयो । आफू संविधान बमोजिम नै अगाडि बढेको ओलीको दाबी छ ।

गत पुष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरे पनि फाुगन २३ गते सर्वोच्च अदालतले सरकारको उक्त निर्णय बदर गरिदिएको थियो । सर्वोच्चको फैसलापछि ब्यूँतिएको संसदले पनि काम गर्न नसक्ने जिकिर प्रधानमन्त्रीले लगातार गरिरहनुभएको छ ।

संविधानमा उल्लेखित सरकार बनाउने सबै धाराहरुको प्रयोग असफल पारेर ओलीले पुष ५ को आफ्नो कदम सही थियो भन्ने प्रमाणित गर्न चाहे बमोजिम नै राजनीतिक कोर्ष अगाडि बढिरहेको देखिन्छ ।

फेरि पनि संसद विघटन गरेर ताजा जनादेशमा जाने ओलीको योजना असफल पार्ने हो भने विपक्षी दलहरुसँग दुई विकल्प छन् । या त ओलीलाई विश्वासको मत दिएर यही सरकारलाई निरन्तरता दिने या संविधानको धारा ५ बमोजिम बहुमत जुटाएर नयाँ सरकार बनाउने । तर यी दुवै विकल्प विपक्षी दलहरुका लागि सहज छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार