गृहपृष्ठ नेपालमा निषेधाज्ञा लगाए पनि किन घटेन कोरोना संक्रमण ? के भन्छन् चिकित्सक ?
नेपालमा निषेधाज्ञा लगाए पनि किन घटेन कोरोना संक्रमण ? के भन्छन् चिकित्सक ?
प्रदेश नं १ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको तीन साता नाघे पनि कोभिड(१९ को संक्रमण दर अझै घट्न सकिरहेको छैन । निषेधाज्ञा लगाउँदा पनि संक्रमितको संख्यामा कमी नआएपछि अब के गर्ने भन्ने अन्योल बढेको प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ ।
कोरोना भाइरसका संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले भने निषेधाज्ञा लम्ब्याउनको विकल्प देखेका छैनन् । घरमा बसिरहेका संक्रमितको उपचार र पीसीआर परीक्षणको दायरा बढाउनु पर्नेमा उनीहरूको जोड छ ।
तथ्याङ्क
निषेधाज्ञा लगाउनु अघि प्रदेशमा गत वैशाख ७ गते १०१ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख ८, ९ र १० गते क्रमशः ९४, १६७ र ९३ जनामा संक्रमण देखिएका अधिकारीहरूले बताएका थिए । निषेधाज्ञा लगाएपछि गत जेठ ७ गते प्रदेशभर १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो ।
जेठ ८, ९ र १० गते क्रमशः ८८८, ७६३ र १,०३७ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ झापा, मोरङ लगायत अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको तीन साता बित्न लागेको छ । निषेधाज्ञा लगाएपछि पनि संक्रमितको संख्यामा कमी नआउनु चिन्ताको विषय भएको चिकित्सकहरू बताउँछन् ।
अन्योलमा प्रशासन
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला निषेधाज्ञा मात्र लगाएर संक्रमणको जालो तोडिनेमा विश्वस्त छैनन् । निरौला भन्छन्, ‘अब केही छुट गर्दै निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने अवस्था छ ।’
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जेठ महिनाभर निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था छ । निषेधाज्ञाले संक्रमण बढ्न नदिएको र केही समय लम्ब्याइए स्थिति सहज बन्ने अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बताउँछन् ।
चिकित्सक के भन्छन् ?
अहिलेको अवस्थामा स्थानीय तहहरूमा ‘हाइ फ्लो’ अक्सिजन सुविधासहितको अस्पताल निर्माणमा चिकित्सकहरूको जोड छ । कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक डा। डेनप्रसाद आचार्यले स्थानीय तहमै उपचार हुने अवस्था सुनिश्चित गरिनुपर्ने बताए ।
मेची अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा। पीताम्बर ठाकुरले निषेधाज्ञालाई खुकुलो बनाउन नहुने बताए । उनले भने, ‘अहिलेको भइरहेको मानिसहरूको चहल पहललाई रोकेर गाउँरगाउँमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ ।’ श्रोत बिबिसी





