गृहपृष्ठ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी
परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।
‘अहिलेसम्मको हाम्रो तयारी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने हो । साउन पहिलो हप्ताभित्र सबै जिल्लाबाट मूल्यांकन नतिजा प्राप्त भयो भने सकिन्छ’ उनले भने ।
उनका अनुसार हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको छ । बाढी पहिरो, निषेधाज्ञा, विद्यालयले पठाएको नतिजामा समस्या देखिएको कारण देखाएर धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।
कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइलाई दिनुपर्ने थियो । त्यसपछि इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।
गत जेठ १३ गतेदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने कार्यविधि बनाएको थियो ।
यस वर्षको एसईईको मूल्यांकन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत अंक दिन पाउनेछन् ।
प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन विद्यालयकै मूल्यांकन समितिलाई पेश गर्नुपर्छ ।
मूल्यांकन समितिले रुजु गरी जिल्ला शिक्षा समन्वय इकाइमा पठाउँछ र जिल्ला समन्वय इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ ।





